नेपाली सङ्गीतमा पहिलो पटक मुक्तक एल्बम लोकार्पण गरिएको छ । ‘मुक्तक’ नामक यो एल्बम काठमाडौंमा एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
एल्बमका तीन प्रमुख मुक्तककारहरू रश्मि असफल, राधा कणेल र घनेन्द्र ओझा हुनुहुन्छ, जसका प्रत्येकका दुईवटा मुक्तक विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र स्वरमा तयार पारिएका छन् ।
उक्त एल्बम छन्द सारथि, सुप्रसिद्ध छन्दकवि रमेश खकुरेल, पूर्वमुख्य सचिव तथा क्यानाडाका लागि पहिलो नेपाली राजदूत साहित्यकार डा.भोजराज घिमिरे, कवि एवं समालोचक प्राडा.देवी नेपाल, गायक,सङ्गीतकार कन्हैया सिंह परियार, लगायतले सार्वजनिक गरेका थिए ।
स्रष्टा ओझाले संस्कृतको चतुष्पदीबाटै मुक्तक विकसित भएको तथा फारसीमा चतुष्पदीकै स्वरूपमा रुबाई लेखिएको उल्लेख गर्दै आफूहरूले चतुष्पदी र रुबाईको सम्मान गर्दै शास्त्रीय छन्द अर्थात् बहरमा मुक्तकहरू रचना गरेर एल्बम ल्याएको सुनाए । उनले चतुष्पदी पिंगल छन्दमा र रुबाई फारसी छन्द (बहर)मा लेखिने बताए ।
कार्यक्रममा ६ वटै मुक्तक सन्तोष श्रेष्ठले प्रत्यक्ष गाएका थिए । प्रत्यक्ष गायनमा बाँसुरीमा धनबहादुर गुरुङ र तबलामा शम्भु श्रेष्ठले साथ दिएका थिए। दियालो साहित्य सरगमको आयोजनामा भएको कार्यक्रमको सहजीकरण साहित्यकार गणेशप्रसाद खतिवडाले गरेका थिए ।
कार्यक्रममा टिप्पणी गर्दै प्राडा.देवी नेपालले मुक्तकलाई छोटो र विशिष्ट अभिव्यक्ति दिने साहित्यिक विधा रहेको बताए । उनले नेपाली मुक्तकलाई पहिलो पटक एल्बमका रूपमा ल्याएकोमा स्रष्टा ओझा र सङ्गीतकार सन्तोष श्रेष्ठलाई बधाई दिए ।