नेपाली चलचित्र निर्माताहरूको छाता संस्था 'नेपाल चलचित्र निर्माता संघ' को अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । उनले १५३ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् ।
अध्यक्षका अर्का उम्मेदवार सुनील कुमार थापाले १२६ मत पाएका थिए ।
संघको सोमबार भएको १९औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका सुब्बा यसअघि एक पटक वरिष्ठ उपाध्यक्ष र तीन पटक उपाध्यक्ष भइसकेका छन् ।
यसैगरी, महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित भएका छन् । उनले १५२ मत पाए भने उनका प्रतिस्पर्धी किरण नेपालीले १२५ मत प्राप्त गरे । सचिवमा युवराज गिरी १५९ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी किसान पोखरेलले ११२ मत प्राप्त गरे ।
उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यमा निर्विरोध चयन
संघको उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य पदहरूमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । उपाध्यक्ष पदमा रौनकविक्रम कँडेल र ज्योतिराज राई निर्विरोध चुनिएका छन् । कोषाध्यक्षमा रामप्रसाद रिजाल पनि निर्विरोध निर्वाचित भएका छन् ।
नौ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएकाले सबैजना सर्वसम्मत भएका छन् । चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित सदस्यमा चुनिएका हुन् ।