नयाँ टेलिभिजन कार्यक्रम ‘कठघरा‘को आधिकारिक प्रसारण सम्बन्धी घोषणा गरिएको छ । यो कार्यक्रम हिमालय टेलिभिजन एचडी र ओएसआर रियालिटी मार्फत प्रसारण हुने भएको छ ।
कठघरा कुनै साधारण अन्तर्वार्ता कार्यक्रम नभई प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चका रूपमा तयार गरिएको कार्यक्रम हो। सार्वजनिक जीवनसँग जोडिएका, सत्तामा रहेका वा प्रभावशाली भूमिकामा रहेका व्यक्तिहरूलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यसहित कार्यक्रमको अवधारणा विकास गरिएको आयोजकले जानकारी दिएका छन् । विशेष गरी आगामी निर्वाचन र पछिल्लो समय युवापुस्ता, विशेषतः 'जेन जी' बाट उठिरहेका आवाज र आन्दोलनहरूले देशमा पारदर्शी र जबाफदेही संवादको माग बढाइरहेको अवस्थामा कठघरा ले त्यसै आवश्यकतालाई सम्बोधन गर्ने विश्वास लिएको छ ।
नेपाली समाजमा उत्तरदायित्व, पारदर्शिता र स्पष्ट सार्वजनिक संवादको आवश्यकता तीव्र बन्दै गएको वर्तमान सन्दर्भमा कार्यक्रम 'कठघरा'ले आफ्नो पहिलो औपचारिक पत्रकार सम्मेलन काठमाडौंमा सम्पन्न गरेको छ । सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, प्रसारण साझेदार, प्रायोजक संस्था तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनका क्रममा 'कठघरा'का निर्माता र प्रसारण साझेदारबीच औपचारिक सम्झौता आदान–प्रदान गरिएको छ । हिमालय टेलिभिजन र ओएसआर डिजिटलसँगको सहकार्यलाई निर्माता भण्डारीले कार्यक्रमको विश्वसनीयता र पहुँच विस्तारको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गरे ।
कार्यक्रमका निर्देशक अमन प्रताप अधिकारीले कठघरा को अवधारणा, संरचना र प्रत्येक प्रश्नको दिशाबारे आफ्नो धारणा राखे । न्यायाधीशको भूमिकामा रहेकी मिथिला शर्माले कार्यक्रमभित्र निष्पक्षता, विवेक र सन्तुलनको महत्वबारे बोलिन् ।
कठघरा आगामी बुधवारदेखि सुरु भई कुल १८ एपिसोड प्रसारण हुनेछ, जसअन्तर्गत हरेक बुधवार राति ठिक ८:०० बजे दर्शकहरूले कार्यक्रम हेर्न सक्नेछन् ।