तीन सय वर्ष पुरानो सांस्कृतिक तथा पुरातात्विक घर 'शताब्दी घर' मा एकदिवसीय 'कलाको रूपमा सम्पदा' चित्रकला कार्यशाला सम्पन्न भएको छ । यस कार्यशाला पर्वतको कुश्मास्थित रहेको छ ।
कार्यशालामा धौलागिरी क्षेत्रका तीन दर्जनभन्दा बढी कलाकार र कुश्माका विभिन्न विद्यालयका झण्डै २०० विद्यार्थी सहभागी थिए। सहभागी कलाकारहरूले यस्ता कार्यशालाले समुदायमा कलाको महत्व बढाउने र मौलिक कला–संस्कृतिको संरक्षण तथा पुस्तान्तरणमा सहयोग पुर्याउने बताएका छन् ।
कार्यशालामा क्यानभास, मेटल, मूर्ति र काष्ठकलाअन्तर्गत ३७ वटा कला कृति तयार गरिएका छन् ।
पर्यटकीय तथा सांस्कृतिक गन्तव्यका रूपमा विकसित हुँदै गएको शताब्दी घरको संस्थागत विकासमा टेवा पुर्याउने उद्देश्यले कार्यशाला आयोजना गरिएको शताब्दी घरका परिकल्पनाकार आरके अदीप्त गिरीले बताए ।
शताब्दी घरका परिकल्पनाकार आरके अदीप्त गिरीले पछिल्लो पुस्ताले बिर्सिंदै गएका मौलिक कला-संस्कृति र यसले ओगटेका महत्वका चिजलाई संरक्षण र पुस्तान्तरण गर्नु समेत कार्यक्रमको उद्धेश्य रहेको बताए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाडौंको प्राविधिक सहयोगमा संचालित कार्यशालाले धौलागिरी क्षेत्रमा कलाको वातावरण सिर्जना गर्न मद्दत पुर्याउने नाफाका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताए ।
कार्यशालामा सिर्जना गरिएका चित्रहरू शताब्दी घरमै संग्रह गरिने आयोजकले जानकारी दिएका छन् । शताब्दी घरलाई दीर्घकालीन रूपमा सांस्कृतिक संग्रहालयका रूपमा विकास गर्ने लक्ष्य लिइएको आयोजक पक्षले जनाएको छ ।