फिल्म निर्देशक तथा निर्माता शोभित बस्नेतले ‘कमेडी दरबार’को सम्पूर्ण टिमलाई अस्ट्रेलिया टुर गराउने भएका छन् । उक्त टुरका लागि निर्देशक बस्नेत र कमेडी दरबारका विक्की अग्रवालले कागजी सम्झौता समेत गरेका छन् ।
कार्यक्रमको तयारीका लागि शोभित बस्नेत चाँडै नै अस्ट्रेलिया प्रस्थान गर्ने तयारीमा छन् । यस कार्यक्रमको प्रस्तुतकर्ता पाल्पा इन्टरटेनमेन्ट रहेको छ भने टुर आयोजकका रूपमा थ्रीकेजी इभेन्ट र पाल्पा इन्टरटेनमेन्ट रहेको छ ।
निर्देशक बस्नेतले टेलिभिजन शो कमेडी दरबारका टिमसँग अष्ट्रेलिया टुरका लागि कागजी सम्झौता गरेको बताए। उनले भने,‘अष्ट्रेलियामा रहेका नेपालीहरुलाई मनोरञ्जन गराउने उदेश्यले अष्ट्रेलिया टुर गर्न लागिएको हो । उक्त कार्यक्रमका लागि तयारी गरिसकेका छौँ ।’
उनका अनुसार उक्त टुरमा ‘कमेडी दरबार’का अधिकांश कलाकार सहभागी रहने छन् । आगामी फेब्रुअरी महिनाको बीचबाट सुरु हुने यो टुर करिब एक महिनासम्म सञ्चालन हुनेछ । टुरअन्तर्गत सिड्नी, मेलबर्न,ब्रिसबेन,पर्थ, एडिलेड,डार्बिन,न्युक्यासललगायत करिब ८ वटा शहरमा कार्यक्रम आयोजना गरिने निर्देशक बस्नेतले बताए ।
यसैगरी, पाल्पा इन्टरटेनमेन्ट र शोभित बस्नेतले संयुक्त रूपमा अब प्रत्येक दुई महिनामा अस्ट्रेलियामा नियमित कार्यक्रम आयोजना गर्ने योजना पनि सार्वजनिक गरेका छन् । यसअघि शम्भुजित बास्कोटा, यम बराल,आनन्द कार्कीलगायतले अस्ट्रेलियाका विभिन्न शहरमा आफ्नो प्रस्तुती दिइसकेका छन् ।