कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानले नेपाली लोकसंस्कृति तथा सुदूरपश्चिममा प्रख्यात देउडाका सम्राट नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेको छ ।
प्रतिष्ठानको ३४ औँ स्मृति दिवसका अवसरमा आयोजित भव्य समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो । समारोह प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाको सभापतित्व तथा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
जिपी तिमिल्सिना फाउण्डेशनको सभाहलमा सम्पन्न समारोहमा कालीभक्त पन्तका सन्ततिलगायत साहित्यकार, कलाकार, संगीतकार, प्राध्यापक, चिकित्सक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
सभापति तथा प्रमुख अतिथिसहित मञ्चासीन अनेसास केन्द्रीय संस्कृति समितिका संयोजक तथा कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कारका अन्तर्राष्ट्रिय संयोजक साहित्यकार तथा संगीतकार महेश्वर पन्त, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के।सी।लगायतले जोशीलाई खादा, माला, दोसल्ला र सम्मानपत्रसहित पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रमुख अतिथिबाट दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको उक्त समारोहको सञ्चालन अनेसास नेपाल च्याप्टरका निवर्तमान महासचिव छन्दकवि ऋषभदेव घिमिरेले गर्नुभएको थियो । उहाँले कालीभक्त पन्तद्वारा रचित नेपाली लोक रचना ‘गाई’ प्रस्तुत गरेर कार्यक्रमको औपचारिक आरम्भ गर्नुभएको थियो ।
समारोहमा प्रतिष्ठानका तर्फबाट परमेश्वर पन्तले स्वागत मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानका गतिविधि तथा प्रदान गरिँदै आएका पुरस्कार र छात्रवृत्तिका विषयमा जानकारी गराउनुभयो । हरेक वर्ष फागुन ६ गते मनाइने स्मृति दिवस यस वर्ष देश-काल परिस्थितिका कारण अग्रिम रूपमा आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
समारोहमा बाल कलाकार श्रीयङ्का बस्नेतले नृत्य प्रस्तुत गरेकी थिइन् भने अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले कालीभक्त पन्तको जीवनी तथा नेपाली लोकसाहित्य, संस्कृति र समाजमा उहाँको योगदानबारे प्रकाश पार्नुभएको थियो ।
पुरस्कारका अन्तर्राष्ट्रिय संयोजक तथा कालीभक्त पन्तका नाति साहित्यकार महेश्वर पन्तले ‘नेपाल, अब नेपालमा मात्र सीमित रहेन’ शीर्षकको कविता वाचन गर्नुका साथै कालीभक्त पन्तका लोकगीत तथा गजल प्रस्तुत गरेर समारोहलाई साङ्गीतिक र साहित्यिक रौनक प्रदान गर्नुभएको थियो । अनेसास गण्डकी प्रदेश समितिका संयोजक देवु के।सी। देवेन्द्रले समसामयिक कविता वाचन गर्नुभएको थियो ।
समारोहमा अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के।सी।ले पुरस्कृत व्यक्तित्वलाई बधाई दिँदै प्रतिष्ठानको योगदानको प्रशंसा गर्नुभयो । प्रमुख अतिथि प्रा।डा। खगेन्द्रप्रसाद लुइटेलले कालीभक्त पन्तको व्यक्तित्व, कृतित्व र सांस्कृतिक इतिहासमा उहाँको योगदानबारे चर्चा गर्दै पुरस्कृत व्यक्तिलाई शुभकामना व्यक्त गर्नुभयो ।
पुरस्कृत व्यक्तित्व नन्दकृष्ण जोशीले आफूले पाएको सम्मानलाई पुरस्कार मात्र नभई पितृको आशीर्वादका रूपमा लिएको बताउँदै आफ्नो जीवनसंघर्षका अनुभव सुनाउनुभयो । उहाँले देउडा गीत प्रस्तुत गर्दै उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाउनु भएको थियो ।
सभापति तथा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थिवेश्वर तिमिल्सिनाले धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गर्नुभयो ।