दार्जिलिङकि अग्रज साहित्यकार तथा गीतकार चन्द्रमीत लक्समलाई गीतकार संघ नेपालले अभिनन्दन गरेको छ । संघले आफ्नै कार्यालयको सभाहलमा कार्यक्रम आयोजना गरि अभिनन्दन गरेको हो । गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्व एवम् सल्लाहकार वरिष्ठ गीतकार तथा पूर्व अर्थमन्त्री एसपी कोइरालाको प्रमुख आतिथ्यतामा साहित्यकार चन्द्रमीत लक्समलाई अभिनन्दन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ गीतकार एसपी कोइरालाले दार्जिलिङ नेपाली भाषा साहित्यको उर्बरभूमि भएको बताउँदै साहित्यकार चन्द्रमीत लक्समको योगदान अनुकरणीय रहेको बताए । कोइरालाले दार्जिलिङसँग गीतकार सङ्घको प्रगाढ सम्बन्ध रहेको बताउँदै गीतसङ्गीत र साहित्यमा योगदान दिएका स्रष्टालाई सम्मान गर्न पाउनु सङ्को कर्तव्य भएको बताए ।
दार्जिलिङको पाँचपोखरीमा सन् १९४२मा जन्मिएकि चन्द्रमीतले गीत, कविता, अभिनय र उद्घोषण विधामा योगदान दिएकी छन् । उनका चर्चित गीत फूल फुल्न नदेउ मलाई, लैजाउ कतै समाल लगायतका गीतहरू रहेका छन् । उनका गीतमा कर्म योन्जन, अशोक राई, वसन्त क्षेत्री, गगन गुरुङ लगायतले सङ्गीत भरेका छन् भने प्रेमध्वज प्रधान, अरुणा लामा, कुमार सुब्बा, लोचन भट्टराई, डेजी बराईली, पवन गोले जस्ता विशिष्ट गायक गायिकाले स्वर दिएका छन् ।
अभिनन्दन कार्यक्रममा साहित्यकार चन्द्रमीत लक्समले गीतकार सङ्घले दिएको सम्मानप्रति हार्दिक आभार प्रकट गर्दै आफूलाई ऋणी बनाएको बताइन् । नेपाल र नेपाली भाषा साहित्य भूगोल भन्दा माथि रहेको बताउँदै सम्मानले अझै जिम्मेवारी बढाएको बताइन् ।
कार्यक्रमलाई समापन गर्दै सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाले अग्रज साहित्यकार चन्द्रमीत लक्समलाई अभिनन्दन गर्न पाएकोमा खुशी व्यक्त गरे । दार्जिलिङ नेपाली भाषा साहित्य र गीतसङ्गीतको उर्बरभूमि भएको बताउँदै चन्द्रमीत लक्समको योगदानको चर्चा गरेका थिए । कार्यक्रम सङ्का उपाध्यक्ष रमेश कोइरालाले सञ्चालन गरेका थिए ।