टीकापुर साहित्य महोत्सव २०८२ को तेस्रो संस्करण चैत १३ देखि १५ गतेसम्म आयोजना हुने भएको छ । स्थापनाकालदेखि नै 'साहित्यमार्फत सामाजिक सद्भाव' को नारा बोकेको टीकापुर साहित्य समाजले पत्रकार सम्मेलनमार्फत त्रिदिवसीय महोत्सवको मिति र समयतालिका सार्वजनिक गरेको हो ।
सम्मेलनद्वारा जारी गरिएको विज्ञप्तिअनुसार महोत्सवको तेस्रो संस्करण 'थारू साहित्य तथा सांस्कृतिक उत्सव' विशेष हुनेछ । जम्मा २१ बहस सत्रहरू रहने महोत्सवमा प्रत्येक दिन सात बहस सत्रहरू हुने छन् । हरेक बहस सत्र १/१ घण्टाको हुने छ ।
महोत्सवको महत्वपूर्ण कार्यक्रमका रुपमा सुदूरपश्चिम प्रदेशका सर्जकहरूका लागि सुदूरपश्चिम कविता महोत्सव रहने छ । कविता महोत्सवमा प्रथम हुने कवितालाई १५ हजार, द्वितियलाई दश हजार र तृतीयलाई पाँच हजार रूपैयाँ नगद पुरस्कार र प्रमाणपत्र अर्पण गरिने छ । सान्त्वनास्वरूप दुईजनालाई प्रमाणपत्र प्रदान गरिने छ। महोत्सवमा सहभागी उत्कृष्ट कविताहरूको संग्रह पनि प्रकाशन गरिने आयोजकले जनाएको छ ।
सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानसंग सहकार्य गरिएको तेस्रो संस्करणको मुख्य प्रवर्धक सुदूरपश्चिमप्रदेश सरकार रहेको छ भने टीकापुर नगरपालिका र जानकी गाउँपालिका यस महोत्सवका प्रवर्धक रहेका छन् । नेपाल पर्यटन बोर्ड यस महोत्सवको सहप्रवर्धक रहने छ । महोत्सवलाई हालसम्म कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंकले प्रायोजन गरेका छन् ।
नेपालमा विशेषगरी कैलाली, कन्चनपुर, बाँके, बर्दिया र दाङ्देउखुरीमा थारू समुदायको बाहुल्य छ। ‘थारू भाषा, थारू लोक साहित्य तथा संस्कृति नेपालको विशिष्ट मौलिक सांस्कृतिक परम्परा र पहिचान भएकोले महोत्सवले यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्धेश्य लिएको टीकापुर साहित्य महोत्सवका संस्थापक संयोजक साहित्यकार महेशविक्रम शाहले बताए ।
अतिथि आगमनको दिन सहभागीहरूलाई महोत्सवको नारा 'उडेर, गुडेर, तैरिएर टीकापुर' लाई सार्थकता दिन र टीकापुर भेकको पर्यटन प्रवर्धन गर्न कर्णाली नदीमा जलविहार गराइने छ। त्यहीँ साँझ थारू संस्कृतिको प्रवद्र्धन हेतु 'थारू सांस्कृतिक साँझ' आयोजन गरिने छ। महोत्सव अवधिभर पुस्तक प्रदर्शनीसमेत हुनेछ।
महोत्सव भाषाविद् तथा नेपाली र अन्य ६० भाषाका वर्णमालाका निर्माता माधवप्रसाद पोखरेलको ‘हाम्रो जाति, भाषा र संस्कृति’ शीर्षकमा विद्वत प्रवचनबाट आरम्भ हुनेछ ।