ब्युटिपार्लर सञ्चालन गर्दै आएका तथा ब्युटिसियन पेशामा आबद्ध व्यक्तिहरूले ‘सौन्दर्य उद्यमी संघ नेपाल’ गठन गरेका छन् । शनिबार बेलुका काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच संघका नवगठित पदाधिकारीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
नव–निर्वाचित कार्यसमितिमा अध्यक्षमा बरिष्ट ब्युटिसियन एवम् रोज ब्युटी एकेडेमीकी अध्यक्ष सुन्दरी कारँजीत (सोनी), उपाध्यक्षमा मनिषा जी.सी. र करुणा श्रेष्ठ, सचिवमा स्वेता मगर श्रेष्ठ र मनिषा श्रेष्ठ, कोषाध्यक्षमा सिर्जना श्रेष्ठ र निलकमल प्रधान रहेका छन् । यस्तै संघको केन्द्रिय कार्यसमिति सदस्यहरूमा ललिता जोशी श्रेष्ठ, निशा थापा, स्मृति सुब्बा (इसू), प्रबिन कला राई, निशा रजक, रवीना तामाङ र शान्ता कार्की चयन भएका छन् ।
सपथ ग्रहणसँगै नव–निर्वाचित कार्यसमितिले आगामी दिनमा सीप विकास तालिम, व्यवसायिक दक्षता अभिवृद्धि, महिला सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
समारोहमा प्रमुख अतिथि तथा वरिष्ठ चरित्र अभिनेत्री बसुन्धरा भुसालले नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिन् । सौन्दर्य व्यवसायलाई व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउने दिशामा संघले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरिन् । आफ्नो पेशामा उत्कृष्ट सिप भएका अग्रज ब्युटिसियनहरुले खेलेको यो संघ दीर्घाकालिन रुपमा अघि बढ्ने विश्वास उनले ब्यक्त गरिन् । बरिष्ट अभिनेत्री बसुन्धराले महिला उद्यमशीलता र आत्मनिर्भरता प्रवद्र्धनमा संघको योगदान उल्लेखनीय रहने धारणा राखिन् ।
कार्यक्रममा संघकी नव अध्यक्ष तथा अग्रज सौन्दर्यविद् सुन्दरी कारनजीत (सोनी) ले संघ गठनको उद्देश्य स्पष्ट पार्दै देशभर छरिएका सौन्दर्य उद्यमीहरूलाई एकताबद्ध गर्ने, उनीहरूको हक–हित संरक्षण गर्ने तथा सीप विकास र व्यवसायिक सुरक्षामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार तालिम सञ्चालन गरी नेपाली सौन्दर्य क्षेत्रलाई थप सुदृढ बनाइने उनको भनाइ थियो ।
उक्त समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्व, सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको आगामी यात्रामा सहकार्य र समर्थन रहने विश्वास व्यक्त गरेका थिए ।