साहित्यकार कृष्ण बजगाईंको ‘डायस्पोरा र सपना’ कवितासंग्रह पाठकमाझ आएको छ । ‘डायस्पोरा र सपना’ कवितासंग्रहका कवितामा जन्मभूमिप्रतिको मोह, एक्लोपना, आशा, सपना, परदेशी जीवनको यथार्थता र बेलाबखतका निराशाका स्वरहरू मिसिएका छन् ।
डायस्पोरा स्थानमात्र होइन, अवस्था पनि हो, जहाँ शरीर कर्मभूमिमा हुन्छ र मन जन्मभूमिको सम्झनामा बाँचिरहेको हुन्छ । त्यस्तो अवस्थामा सपना जन्मिन्छन्-जन्मभूमि फर्किने सपना, कर्मभूमिमा बसिरहने सपना र घरपरिवारको भविष्य उज्ज्वल बनाउने सपना । यस्तै, काव्यिक सपनाहरूको संग्रह हो डायस्पोरा र सपना ।
विसं २०४१ सालमा पत्रिकामा कविता प्रकाशित गरेर औपचारिक रूपमा साहित्य लेखनमा सक्रिय बजगाईंका कविता, हाइकु, नियात्रा, कथा, लघुकथा र बालसाहित्यका ३३ वटा साहित्यिक कृतिहरू प्रकाशित छन् । भुँडीपुराण प्रकाशन काठमाडौंबाट प्रकाशित ‘डायस्पोरा र सपना’ कवितासंग्रको १९० मूल्य राखिएको छ ।
‘आप्रवासी नेपाली कवितामा अलंकारविधान’ विषयमा विद्यावारिधि गर्नुभएका डा.पुरण राई ‘कवि कृष्ण बजगाईंको ‘डायस्पोरा र सपना’ डायस्पोरिक कविताहरू मात्र संगृहित भएको पहिलो कवितासंग्रह हो’, भन्नुहुन्छ ।
लामो समयदेखि विदेशमा रहेर नेपाली भाषा साहित्यको उन्नयनमा क्रियाशील बजगाईं समकालीन साहित्य प्रतिष्ठान बेलायतकको संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँले सन् २००७ देखि ‘समकालीन साहित्य डट कम’ अनलाइन साहित्यिक पत्रिका र सन् २०१७ देखि नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’ सम्पादन गरिरहनुभएको छ ।