हाँस्य टेलिभिजन शो ‘कमेडी दरबार’ को तेस्रो सिजन प्रसारण तयारीमा छ । यसपटक नयाँ प्रस्तुति शैली र विविधतापूर्ण सामाग्रीसहित शो दर्शकमाझ आउन लागेको निर्माण पक्षले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । ‘कमेडी दरबार ३’ आगामी वैशाख ४ गतेदेखि हरेक शुक्रबार राति ९ बजे ओएसआर रियालिटी तथा प्राइम टाइम टेलिभिजनमार्फत प्रसारण हुनेछ ।
शोमा महाराजाको रूपमा मनोज गजुरेल र महारानीको रूपमा गौरी मल्ल यथावत रहने छ भने अभिनेत्री दीया मास्के नयाँ रूपमा रानीको भूमिकामा देखिने जनाइएको छ । त्यस्तै, यस सिजनमा दिनेश काफ्ले, सन्तोष थापा र सुजन जिम्बालाई नयाँ कमेडियनका रूपमा देख्न पाइनेछ ।
लेखन टिममा विकास अर्याल र सरोज भण्डारी रहने छ भने कार्यक्रम सञ्चालन सजिना खनाल र विक्की अग्रवालले नै गर्नेछन् । निर्देशन पनि विक्की अग्रवाल र श्रद्धा प्रसाईंले गर्नेछन् ।
अघिल्ला सिजनका कलाकारहरू सिडी विजय अधिकारी, विश्वास तिम्सिना (बिटी कान्छा), सुन्दर खनाल, पवित्रा साँकी (मिस पबी), सुजाता श्रेष्ठ, पवन खतिवडा, खड्गबहादुर पुन (खबपु) र विकास अर्याल पनि यथावत रहनेछन् ।
निर्माण टिमल यस सिजनमार्फत अझ परिष्कृत प्रस्तुति र उच्चस्तरीय मनोरञ्जन दिने लक्ष्य लिएको जनाएको छ । अघिल्ला सिजनमा जस्तै यस सिजनमा पनि चलचित्र, गीत संगीतसँगै अझ फरक क्षेत्रका अतिथिहरूलाई पनि ल्याउने कोसिस रहने गेष्ट कोर्डिनेटर गोपीकृष्ण चापागाईंले जानकारी दिए ।