कवि तथा गीतकारका रूपमा परिचित श्रवण मुकारूङको उपन्यास 'सलह' सार्वजनिक भएको छ। शनिबार नेपालयको आरशालामा आयोजित कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो। पहिलो आख्यानका रूपमा 'सलह' ल्याएका श्रवण मुकारूङले कार्यक्रममा बोल्दै सुरूमै हलको बाहिर बसेर सुनिरहेकाहरूलाई सम्बोधन गरे ।
लोकार्पणमा अग्रिम नाम दर्ता गरेर आउने पाठकहरू र आरशालामै आएर नाम दर्ता गर्ने पाठकहरू धेरै भएपछि आयोजकले पहिलोपटक कफी शपतिरको ढोका खोल्नुपरेको थियो ।
'सलह' लोकार्पण कार्यक्रममा श्रवण मुकारूङ आफ्ना बुवा सम्झेर भावुक भएका थिए । उनले आफ्नो चार दशक लामो साहित्य यात्रा पनि स्मरण गरे। 'हुन त कवि–गीतकारभन्दा पहिला म निबन्धकार र नाटककार भएको थिएँ। कक्षा ७ मा पढ्दा 'हुलाकी बन्ने धोको' निबन्ध र ९ मा पढ्दा 'अस्तित्व' नाटक लेखेको थिएँ। काठमाडौं आएपछि रत्नराज्यलक्ष्मी क्याम्पस पढ्दा पहिलोचोटि मैले ‘आजकल रानीपोखरीमा’ शीर्षकको कविता सुनाएको थिएँ ।'
आफू सुरूदेखि नै साहित्यका विभिन्न विधामा छरिएको बताउँदै मुकारूङले भने, 'निबन्ध, नाटक, कविता, गीत, कथा, चलचित्र हुँदै अहिले म उपन्यास 'सलह' लिएर आएको छु। लेखकले छनोट गरेका कतिपय विषयले आफैं विधाको आग्रह गर्दो रहेछ । यो विषयले नै मलाई उपन्यास 'सलह' लेखायो।' श्रवण मकारूङले कल्पना र स्मृतिले नै मानिसलाई बचाउने बताए ।
जनआन्दोलन २०६२÷०६३ ताका 'बिसे नगर्चीको बयान' लेखेर माहौल तताएका साहित्यकार मुकारूङले धेरै उज्यालो खोज्दा अँध्यारो पनि हुन सक्ने भन्दै निकटको आन्दोलनतिर पनि संकेत गरे । आफ्ना साथीहरूले तिम्रो कवितामै आख्यान, सिनेमा, नाटक छ भनिदिएको हुनाले आफूले धेरै ढिलो गरी आख्यान लेखेको भन्दै रमाइलो पनि गरे ।
'श्रवण मुकारूङ पलेँटी र ई–कवितामार्फत पनि नेपालयसँग जोडिनुभएको छ,' नेपालयका सम्पादक विमल आचार्यले भने, 'अब उहाँ लेखकका रुपमा पनि हामीसँग जोडिनुभएको छ । साहित्यलाई विचार र शैली दुवै हिसाबले गरिमामय बनाउने श्रवण मुकारुङको ‘सलह’ले उहाँलाई आख्यानकारका रूपमा पनि स्थापित गर्नेछ ।'
चार दशक लामो साहित्य यात्रामा श्रवण मुकारूङका 'देश खोज्दै जाँदा', 'जीवनको लय' र 'बिसे नगर्चीको बयान' कविता संग्रह, 'हिउँको दरबार', ‘सुन रे सियाराम' गीत संग्रह लगायत प्रकाशित छन् । मुकारुङ पाँच वर्षदेखि नेपालयको साप्ताहिक अडियो कविता शृंखला ई–कविता पनि संयोजन गरिरहेका छन् ।
उपन्यासकार श्रवण मुकारूङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरूङ तथा श्रीमती गीता थापा मगरलाई उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको थियो । ४३६ पृष्ठको 'सलह' को मूल्य ९९५ रूपैयाँ रहेको छ । पुस्तक देशका प्रमुख पुस्तक पसलहरूका साथै 'थुप्रै डट कम' वा अमेजनमार्फत पनि किन्न सकिने जनाइएको छ ।