वेब सिरिज 'साहु बा' को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले सिरिजको कथावस्तु क्राइम, एक्सन र रिभेन्ज (बदला) मा केन्द्रित रहेको स्पष्ट रूपमा देखाउँछ ।
नेपाली वेब सिरिजहरू प्राय संवादमा बढी केन्द्रित हुने गरेकोमा ‘साहु बा’ ले एक्सनलाई प्राथमिकता दिएको देखिन्छ । म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा तयार भएको यो सिरिजमा विजु पार्कीले मुख्य पात्रका रूपमा अभिनय गरेका छन् ।
निर्देशक एवं लेखक सुजोय योङका अनुसार यो सिरिज कुनै सामान्य प्रोजेक्ट मात्र नभई नेपाली डिजिटल जगतकै एक महत्वाकांक्षी काम हो । यसमा ३८० भन्दा बढी कलाकारले अभिनय गरेको निर्माण पक्षको दाबी छ । २४ एपिसोडको यस सिरिजको निर्माणमा करिब तीन वर्षको समय लागेको निर्माण पक्षले जनाएको छ ।
आयुषमान डी जोशी, संगम राई र अनिश तामाङ छायाँकार रहेको यस सिरिजको सम्पादक रामप्रसाद चौधरी हुन्। सागर आले, मिस्टर डी र उजन शाक्यको गीत रहेको सिरिजमा पेमा लामा र राजु तामाङको द्वन्द्व निर्देशन छ ।
सिरिजमा विजुसहित प्रियंका कार्की, कविता नेपाली, सरिता गिरी, नम्रता श्रेष्ठ, अमित शाह, अमित गिरी, प्रियंका चौधरी, हिना नगरकोटी, नरेश वीर सिंह, बिमल पुरी, रमेश अधिकारी, प्रदीप बाँस्तोला, कृष्ण भक्त महाजनलगायत नेपाली फिल्म तथा रंगमञ्चका चर्चित कलाकारहरूको अभिनय रहेको छ ।
'साहु बा' १७ अप्रिल (बैशाख ४ गते) देखि प्रसारण हुनेछ ।