विश्वप्रसिद्ध नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’को दोस्रो संस्करण औपचारिक रूपमा घोषणा गरिएको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत निर्णायक, अडिसन तालिका र पुरस्कारबारे जानकारी सार्वजनिक गरिएको हो ।
सन् २००८ मा दक्षिणी क्यालिफोर्नियाबाट सुरु भएको ‘वर्ल्ड अफ डान्स’ अहिले ५० भन्दा बढी देशमा फैलिसकेको छ । नेपालमा यसको आयोजना गरी स्थानीय प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा बलिउडका चर्चित कोरियोग्राफर टेरेन्स लुइस ग्रान्ड जज रहनेछन् । साथै, निर्णायकमा किरण थापा र जेडी तमु पनि सहभागी हुनेछन् ।
कार्यक्रममा बोल्दै 'वर्ल्ड अफ डान्स नेपाल'का राष्ट्रिय निर्देशक रोशन गहतराजले नेपाली डान्सरहरूले पनि उत्सव मनाउन सक्ने स्तरको अन्तर्राष्ट्रिय प्लेटफर्म नेपालमै आओस् भन्ने चाहना अनुरूप यो कार्यक्रम ल्याइएको बताए । त्यस्तै, कलात्मक निर्देशक जेडी तमुले नेपाली कलाकारहरूले विदेशमा जसरी नेपाली कला र संस्कृति प्रस्तुत गरे, त्यसैबाट प्रभावित भएर यो फ्रेन्चाइज नेपाल ल्याउने अफर आएको खुलाए । उनका अनुसार यस प्रतियोगितामा नेपालको रैथाने संस्कृति र नृत्य नै मुख्य केन्द्रमा रहनेछ भने अडिसनमा भारतीय डान्सरहरूले समेत सहभागिता जनाउन पाउनेछन् ।
पत्रकार सम्मेलनमा नेपाली कला क्षेत्रका दिग्गज व्यक्तित्वहरूको पनि बाक्लो उपस्थिति थियो। अभिनेता दयाहाङ राईले नृत्यलाई आफूलाई अभिव्यक्त गर्ने एक सशक्त माध्यम बताउँदै आफ्नो रहनसहन र संस्कृतिलाई सँगै लिएर हिँड्न नवप्रतिभाहरूलाई आह्वान गरे। अर्का अभिनेता बुद्धि तामाङले नृत्य र नाटक दुवैले सुरुदेखि नै कला र संस्कृतिलाई बोक्ने धारणा राखे । 'फेस अफ वर्ल्ड अफ डान्स नेपाल'की रूपमा रहेकी नृत्याङ्गना कविता नेपालीले लुकेर रहेका प्रतिभाहरूका लागि यो सुनौलो मौका भएको बताउँदै अन्तर्राष्ट्रिय मञ्चमा पुग्न तयार रहन आग्रह गरिन् । कला र मिडिया एम्बासडर नायिका परीक्षा लिम्बुले नृत्य मनोरञ्जन मात्र नभई यसले धेरै कुरा बोकेको हुने बताइन् । रणनीतिक सल्लाहकार अभिनेता प्रशान्त ताम्राकारले यति ठुलो अन्तर्राष्ट्रिय च्याम्पियनसिप नेपाल ल्याएकोमा आयोजकलाई धन्यवाद दिए भने चर्चित मिडिया व्यक्तित्व सिसन बानियाँले‘वर्ल्ड अफ डान्स’को फाइनल इभेन्ट विश्वमै पहिलो पटक 'प्याराडाइम टिभी' मार्फत युट्युबमा आउन लागेको जानकारी दिँदै "नयाँ नेपाल यहाँ छ, हामी आउँदैछौं" भन्दै उत्साह व्यक्त गरे ।
आयोजकका अनुसार प्रतियोगितामा चार विधामा प्रतिस्पर्धा हुनेछ र प्रत्येक विधाका विजेताले नगद पुरस्कारसहित २४ क्यारेट गोल्ड प्लेटेड ट्रफी प्राप्त गर्नेछन् । विजेतालाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत प्रदान गरिनेछ ।
देशभरका पाँच सहर—नेपालगन्ज, बुटवल, पोखरा, काठमाडौं र इटहरीमा अडिसन सञ्चालन हुनेछन् । सेमिफाइनल जेठ २१ गते र ग्रान्ड फिनाले जेठ २३ गते आयोजना गरिने तय गरिएको छ ।