कवि सन्तोषी पाण्डेको पहिलो कविताकृति ‘सुमेरण’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघद्वारा काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच उक्त कृतिको सार्वजनिक गरिएको हो ।
कार्यक्रममा साहित्यकार प्रमोद प्रधानले कृति लोकार्पण गर्दै साहित्य र संस्कृतिको संरक्षणका लागि नयाँ पुस्ता सक्रिय हुनुपर्ने धारणा राखेको थियो । उनले कवि पाण्डेलाई नेपाली साहित्यमा प्रवेश गरेकोमा बधाई दिँदै कवितामा अनुभूतिको तीव्रता रहेको उल्लेख गर्यो । साथै, पाण्डे सम्भावनायुक्त कवि भएको भन्दै अझै साधनाको आवश्यकता रहेको उनको भनाइ थियो ।
कृतिका सम्पादक विमल भौकाजीले पाण्डेका कविताले आफूलाई प्रभावित पारेकाले सम्पादनको जिम्मेवारी लिएको बताए । साहित्यकार राधेश्याम लेकालीले कृति सम्पादनको महत्त्वमाथि जोड दिँदै राम्रो सम्पादन भएको कृति अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सक्ने धारणा व्यक्त गरे ।
कृतिकार सन्तोषी पाण्डेले आफ्नो लेखन यात्राबारे चर्चा गर्दै संग्रहमा समेटिएका कविताहरू आफ्ना जीवनका अनुभूति र भावनामा आधारित रहेको बताए ।
कार्यक्रममा कवि तथा गीतकार सुमन थापा ‘संगम’ले ‘कविताको जन्म’ शीर्षकको कविता वाचन गरेको थियो । प्रकाशक केशव पराजुलीले पहिलो कृति भए पनि पठनीय र स्तरीय भएकाले प्रकाशन गरिएको जिकिर गरेका थिए ।
कार्यक्रममा प्राडा. गोविन्दमानसिंह कार्की, राजेश खनाल, श्रीराम राई, शिवप्रसाद भट्टराई, जीवन श्रेष्ठलगायत साहित्यकार तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ले गरेको थियो ।