नेपाली डिजिटल प्लेटफर्ममा पछिल्लो समय वेबसिरिजको लहर चलिरहेका बेला नयाँ सिरिज ‘साहु बा’ले दर्शकको विशेष ध्यान तान्न सफल भएको छ । म्युजिक नेपाल र फ्रेम इन मोसन को संयुक्त प्रस्तुतिमा निर्माण भएको यो सिरिज सार्वजनिक भएसँगै यसको कथावस्तु र मेकिङबारे चर्चा सुरु भएको हो ।
‘क्राइम, एक्सन र रिभेन्ज’ (बदला) मा केन्द्रित कथावस्तु रहेको ‘साहु बा’ले आफ्नो वृहत् क्यानभास र एक्सन प्रस्तुतीकरणका कारण विशेष चर्चा बटुलिरहेको छ । यस सिरिजको अर्को उल्लेखनीय पक्ष भनेको यसको ठूलो कलाकार टोली हो ।
साप्ताहिक रूपमा ‘म्युजिक नेपाल इन्टरटेनमेन्ट’को आधिकारिक च्यानलमार्फत प्रसारण भइरहेको यस सिरिजका हालसम्म दुई एपिसोड सार्वजनिक भइसकेका छन् । प्रारम्भिक एपिसोडहरूले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन् । नेपाली वेबसिरिज इतिहासमै सम्भवतः पहिलो पटक ३८० भन्दा बढी कलाकारले एउटै सिरिजमा अभिनय गरेका छन् ।
सुजोय योङ द्वारा निर्देशित तथा लिखित यस सिरिजका कुल २४ एपिसोड निर्माण गर्न करिब तीन वर्ष समय लागेको बताइएको छ । छायांकन आयुषमान जोशी, संगम राई र अनिश तामाङले गरेका छन् भने सम्पादन रामप्रसाद चौधरीको रहेको छ । सागर आले, मिस्टर डी र उजन शाक्यका गीतहरू समावेश रहेको सिरिजमा पेमा लामा र राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ ।
सिरिजमा प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, सरिता गिरी, नम्रता श्रेष्ठ लगायतका स्थापित कलाकारहरूको अभिनय रहेको छ। साथै अमित शाह, अमित गिरी, प्रियंका चौधरी, हिना नगरकोटी, बिमल पुरी, रमेश अधिकारी, प्रदीप बाँस्तोला, कृष्ण भक्त महाजन लगायतका कलाकारहरूको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
कथाको सुरुवात सीमापारिबाट हुने अवैध कारोबार र धनको चलखेलबाट हुन्छ। पहिलो एपिसोडमै देखाइएको ठूलो सडक दुर्घटना र त्यसपछि विकसित हुने सस्पेन्सले दर्शकलाई बाँधेर राख्ने प्रयास गरेको छ ।
मुख्य पात्रको रूपमा विजु पार्की प्रस्तुत भएका छन् । उनको चरित्रलाई सङ्घर्षशील र बदलाको भावनाले भरिएको युवकका रूपमा चित्रण गरिएको छ । रगतले लतपतिएको हातमा कागजको जहाज देखिने दृश्यले उनको विगतसँग जोडिएको गहिरो पीडा र भावनात्मक पाटोलाई संकेत गर्दछ । ‘साहु बा’ वेबसिरिज हरेक साता साँझ ६ बजेपछि म्युजिक नेपाल इन्टरटेनमेन्टमा सार्वजनिक हुँदै आएको छ ।