गीतकार डम्बर याक्सोद्वारा रचित पाँच गीतको श्रव्य–दृश्य सार्वजनिक गरिएको छ । गीतकार संघ नेपालका पूर्व अध्यक्ष शुभ मुकारुङको सभापतित्व तथा संघका अध्यक्ष वसन्त वित्यासी थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उक्त कृतिहरू लोकार्पण गरिएको हो ।
सेवा रेकर्डिङको आयोजनामा सम्पन्न कार्यक्रममा सङ्गीतकार शान्तिराम राईले स्वागत मन्तव्य राख्दै अतिथिहरूलाई स्वागत गरेका थिए । उनले डम्बर याक्सोको संक्षिप्त परिचय प्रस्तुत गर्दै जीवनका अनुभूति र भोगाइलाई सरल शैलीमा गीतमार्फत अभिव्यक्त गर्ने क्षमता रहेको उल्लेख गरे ।
कार्यक्रममा वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, कवि तथा गीतकार राजन मुकारुङ, प्राज्ञ श्रवण मुकारुङ, नेपाल सरकारका उपसचिव अमरदीप सुनुवार, गीतकार रमेश कोईराला, गायक दीपक लिम्बू, गायिका दीपा सुहाङ, गीतकार विष्णु भण्डारी, गीतकार जीवन मुकारुङ र गायक अशोक मुकारुङलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सेसेमी लिम्बूले गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि वसन्त वित्यासी थापाले याक्सोलाई देश र समाज सुहाउँदो सिर्जना गर्ने स्रष्टा भएको उल्लेख गर्दै बौद्धिक सम्पत्तिको संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । उनले स्रष्टाहरूले लगानीअनुसार प्रतिफल नपाइरहेको अवस्था सुधार गर्न कानुनी रूपमा अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राखे ।
लोकार्पण गरिएका गीतहरूमा ‘मुस्कान छैन’, ‘आमाको तिर्सना’, ‘म त तिम्रो नजरमा जीउँदै मरेको मान्छे’, ‘निष्ठुरी रहेछौ दैव’ र ‘अति सुन्दर छ हाम्रो हाङपाङ गाउँ’ समावेश रहेका छन् ।
शुभकामना मन्तव्य दिँदै साहित्यकार लक्ष्मी उप्रेतीले डम्बर याक्सोका सिर्जनाले मन छोएको बताउँदै गीत–साहित्य राष्ट्रको महत्वपूर्ण अंग भएको धारणा व्यक्त गरिन् । वरिष्ठ सङ्गीतकार बुलु मुकारुङले याक्सोलाई विशिष्ट श्रेणीको गीतकारको रूपमा चित्रण गर्दै उनका गीतमा मानवीय संवेदना, माटोको सुगन्ध र जीवनका विविध आयाम झल्किने बताए ।
कार्यक्रमको समापन गर्दै पूर्व अध्यक्ष शुभ मुकारुङले डम्बर याक्सोलाई बहुआयामिक स्रष्टाका रूपमा उल्लेख गर्दै उनका सिर्जनाले आफूलाई प्रभावित बनाएको बताए । उनले आगामी दिनमा पनि निरन्तर सिर्जनात्मक यात्रालाई अघि बढाउन शुभकामना व्यक्त गरे । कार्यक्रममा गायक दीपक लिम्बू, अशोक मुकारुङ र गायिका दीपा सुहाङले सांगीतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।