हिपहप रियालिटी शो ‘द र्यापर : लेट द भर्स स्पिक’ सिजन १ घोषणा गरिएको छ । आयोजकका अनुसार यो नेपालकै पहिलो व्यवसायिक हिपहप (र्याप) रियालिटी शो हो ।
शो हिमालयन टेलिभिजनबाट प्रसारण हुने तय भएको छ, जसको प्रसारण जेठको दोस्रो सातादेखि सुरु गरिने जानकारी दिइएको छ । डिजिटल पार्टनरका रूपमा हाइलाइट्स नेपाल र भोटिङ पार्टनरका रूपमा खल्ती आबद्ध छन्। पहिलो सिजनमा कुल २० एपिसोड रहनेछन् । कार्यक्रमको आयोजना एनएक्सजी इन्टरटेनमेन्टले गरेको हो भने निर्देशन युवराज साउदले सम्हालेका छन् ।
देशभरबाट डिजिटल अडिसनमार्फत ६४ उत्कृष्ट प्रतिस्पर्धी छनोट गरिएका छन् । उनीहरूले आफ्ना लिरिक्स, संगीत, कम्पोजिसन तथा र्याप गर्ने क्षमतालाई विभिन्न शैलीमा प्रस्तुत गर्नेछन् । शोको मुख्य निर्णायकका रूपमा गिरीश खतिवडा रहनेछन्, जसले शब्द, संगीत, प्रस्तुति, प्राविधिक पक्ष तथा समग्र क्षमताका आधारमा मूल्याङ्कन गर्नेछन् ।
यस्तै,‘स्क्वाड लिडर’का रूपमा विवश जमरकट्टेल (विवश जेके), विवेक घोरासैनी (बीजी बिर्गोर्खाली), संकेत श्रेष्ठ (ओएमजी स्पार्क) र जगत पुन (रेक्स) रहनेछन् । उनीहरूले प्रतिस्पर्धीलाई प्रशिक्षण र मार्गदर्शन प्रदान गर्दै उनीहरूको प्रतिभा निखार्ने भूमिका खेल्नेछन् ।
प्रतिस्पर्धा विभिन्न चरण पार गर्दै अगाडि बढ्नेछ, जहाँबाट टप १६, टप १० हुँदै अन्तिम ४ प्रतिस्पर्धी फाइनलमा पुग्नेछन् । टप १६ देखि टप १० सम्मको छनोटमा निर्णायक र दर्शकको ५०/५० मतको भूमिका रहनेछ भने त्यसपछि दर्शकको मत मात्रै निर्णायक हुनेछ ।
विजेताले १५ लाख रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछन् भने फाइनलिस्टहरूले अन्तर्राष्ट्रिय टूरको अवसर पनि पाउनेछन् । वैशाख १३ गतेसम्म खुला गरिएको डिजिटल अडिसनमा ७ हजारभन्दा बढीले आवेदन दिएका थिए ।