सामाखुशीकी सानु थापाले ‘ब्युटिसियन नेपाल २०२६’ को उपाधि जित्दै ताज आफ्नो नाममा सुरक्षित गरेकी छन् । राजधानीस्थित ज्यापु एकेडेमीमा आइतबार सम्पन्न प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भइन् । उपाधिसँगै उनले नेफा अवार्ड २०२६, लण्डनका लागि इन्ट्री प्याकेजसमेत हात पारेकी छन् ।
हिमालयन मुभिजको आयोजनामा सम्पन्न प्रतियोगितामा अन्जली गोले पहिलो उपविजेता र सरिता श्रेष्ठ दोस्रो उपविजेता घोषित भए । कार्यक्रममा स्टेजमै ‘वेस्ट ब्राइडल’ अवार्ड रञ्जना राणाले जितिन् भने ‘वेस्ट मोडल मेकअप’ विभु श्रेष्ठ, ‘वेस्ट नेल आर्ट’ सम्झना ढकाल र ‘वेस्ट जुरो’ शोभा श्रेष्ठले प्राप्त गरे ।
सवटाइटलतर्फ सानु थापा ‘मोस्ट इन्टेलिजेन्ट’, अन्जली गोले ‘मोस्ट कन्फिडेन्ट’, रोजी भ्लोन ‘मोस्ट चार्मिङ’, रञ्जना राणा ‘वेस्ट पर्सनालिटी’ र सरिता श्रेष्ठ ‘मोस्ट स्मार्ट’ घोषित भए । त्यसैगरी ज्ञानु गुरुङ ‘मोस्ट डेडिकेटेड’, जुना थापा मगर ‘मोस्ट डिलिजेन्ट’, निर्मला रम्तेल ‘मोस्ट ग्रेसफुल’ तथा हिरा थापा ‘मोस्ट प्यासन्ट’ बन्न सफल भए ।
पब्लिक भिडियो च्वाइसतर्फ अन्जली गोले उत्कृष्ट रहिन् । साथै ‘वेस्ट मल्टिमिडिया’ शोभा श्रेष्ठ र ‘मोस्ट पपुलर’ उपाधि पनि अन्जली गोलेकै पोल्टामा पर्यो ।
ब्युटिसियन नेपाल प्रतियोगिताको यो १२औँ संस्करणमा सहभागीहरूले पेशागत सीपसँगै आफ्नो कला र प्रतिभा प्रदर्शन गरेका थिए । प्रारम्भमा ब्राइडल थिममा विभिन्न दुलहीका पहिरनमा स्टेजमा प्रस्तुत भएका प्रतिस्पर्धीहरूले परिचयात्मक चरणपछि कार्यक्रमको थिम गीतमा आकर्षक प्रस्तुति दिएका थिए ।
कार्यक्रमको कोरियोग्राफी वरिष्ठ फेसन कोरियोग्राफर हिमानी सुब्बाले सम्हालेकी थिइन् । निर्णायक मण्डलमा नायिका तथा मोडल शुष्मा अधिकारी, मिसेस हिमालयन नेपाल २०२४ विजेता तथा सौन्दर्यकर्मी कविता बिशुंखे, डर्माटोलोजिस्ट डा. मुना बिष्ट, मोडल अभिषेक खड्का र अभिनेता दिक्पाल कार्की सहभागी थिए ।