नेपाली कला, सङ्गीत तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने विभिन्न स्रष्टा तथा व्यक्तित्वलाई ‘नातिकाजी राष्ट्रिय पुरस्कार तथा सम्मान २०८१’ प्रदान गरिएको छ । शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न विधाका स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो ।
समारोहमा ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०८१’ कला पत्रकार तथा गीतकार अनन्त वाग्ले र गीता अधिकारीलाई प्रदान गरिएको थियो । पुरस्कारसँगै नगद राशिसमेत प्रदान गरिएको आयोजकले जनाएको छ । अधिकारी दुई दशकभन्दा बढी समयदेखि चलचित्र पत्रकारितामा सक्रिय रहँदै हिमालय टाइम्स राष्ट्रिय दैनिक तथा मिलाप राष्ट्रिय मासिक पत्रिकासँग आबद्ध रहँदै आउनुभएको छ ।
यसैगरी ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ गीतकार नारायणकुमार आचार्य, साबु गदाल कार्की र वीरेन्द्र पाठकलाई प्रदान गरिएको थियो । त्यस्तै उक्त सम्मानबाट शशी गुरुङ, गणेश पराजुली, जुजुकाजी रञ्जित, अष्ट लामा, डा भीमार्जुन आचार्य तथा निर्वाण सिं गुरुङ पनि सम्मानित हुनुभएको थियो ।
‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ मनोज खड्का, रोशन गुरुङ, ताराप्रकाश लिम्बु, सरिता शाही, चाँद सिं र महेश्वरमान राजभण्डारीलाई प्रदान गरिएको थियो भने ‘नातिकाजी नव प्रतिभा पुरस्कार’बाट विपना तामाङ, सहिमा श्रेष्ठ र सुरेश लामा सम्मानित हुनुभएको थियो । त्यस्तै ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार’ प्रमोद उपाध्यायलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा शम्भूजीत बाँसकोटाले सङ्गीत महर्षि नातिकाजी श्रेष्ठले सङ्गीतलाई मनोरञ्जनसँगै सामाजिक चेतना अभिवृद्धिको माध्यमका रूपमा स्थापित गर्नुभएको उल्लेख गर्नुभयो । उहाँले नातिकाजी श्रेष्ठको स्मृतिमा स्थापित समाजले प्रत्येक वर्ष स्रष्टाहरूको सम्मान र प्रोत्साहनका लागि पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा सम्मानित कलाकारहरूले स्वर्गीय नातिकाजीका चर्चित गीतहरूको प्रत्यक्ष प्रस्तुति समेत दिएका थिए ।