नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रका चर्चित १८ सेलिब्रेटीहरू एकै स्टेजमा प्रस्तुत हुने भएका छन् । स्वस्तिमा खड्का, आँचल शर्मा, अस्मी श्रेष्ठ, नीति शाह, शिल्पा मास्के, कविता नेपाली, हिमान्चल राज केसी, श्रीच्छा प्रधान, आस्था पोखरेल, सबिता कार्की, इभा गिरी, आना शर्मा, मलिका महत, अदीति अधिकारी, दीपशिखा नेपाल र प्रेमा लमगाडे लगायतका कलाकार तथा मोडलहरू ‘आईईसी डिजाइनर रनवे–१५’ मा आकर्षक पहिरनसहित र्याम्पमा उत्रिने भएका हुन् ।
दरबारमार्गस्थित होटल याक एण्ड यतीमा शुक्रबार साँझ आयोजना हुने उक्त फेसन शो भव्य समारोहका बीच सम्पन्न गरिने आयोजकले जनाएको छ । कार्यक्रममा ६६ भन्दा बढी डिजाइनरहरूले तयार पारेका १७ वटा फरक–फरक फेसन सिक्वेन्स प्रदर्शन गरिनेछ भने ३० जना व्यवसायिक मोडलहरूले र्याम्पमा आफ्नो प्रस्तुति दिनेछन् ।
आईईसी कलेजको आयोजनामा हुन लागेको शोमा भारतका चर्चित कोरियोग्राफर यतिन गान्धीको कोरियोग्राफी रहनेछ । कार्यक्रमको व्यवस्थापन जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले सम्हालिरहेको छ ।
नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाका अनुसार ‘आईईसी डिजाइनर रनवे–१५’लाई नेपालकै उत्कृष्ट र आकर्षक फेसन शोका रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको छ ।
आयोजक आईईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले नेपाली फेसन उद्योगलाई नयाँ उचाइमा पुर्याउने तथा नेपाली डिजाइनरहरूको सिर्जनशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । उनले यो फेसन शोले फेसनप्रेमी दर्शकहरूको विशेष आकर्षण केन्द्र बन्ने विश्वास व्यक्त गरिन् ।