दरबारमार्गस्थित होटल याक एण्ड यती शुक्रबार साँझ फेसनमय बनेको थियो । आईईसी कलेजको आयोजनामा सम्पन्न ‘आईईसी डिजाइनर रनवे–१५’ नामक भव्य फेसन शोमा चर्चित सेलिब्रेटी र मोडलहरूले आकर्षक फेसन डिजाइन प्रस्तुत गर्दै र्याम्प तताएका हुन् ।
झकिझकाउ सजावटसहित सम्पन्न कार्यक्रममा १८ जना सेलिब्रेटी तथा मोडल एउटै र्याम्पमा उत्रिएका थिए। कार्यक्रममा शिल्पा मास्के, निती शाह, स्वस्तिमा खड्का, आँचल शर्मा, अस्मी श्रेष्ठ, कविता नेपाली, हिमान्चल राज केसी, श्रीच्छा प्रधान, आस्था पोखरेल, सबिता कार्की, इभा गिरी, आना शर्मा, मलिका महत, अदीति अधिकारी, दीपशिखा नेपाल र प्रेमा लमगाडेलगायतले नयाँ तथा आकर्षक डिजाइनका पहिरनमा र्याम्प वाक गरेका थिए। उनीहरूको प्रस्तुतिमा दर्शकदीर्घाबाट सिटी र तालीको वर्षा भएको थियो ।
फेसन शोमा ६६ भन्दा बढी डिजाइनरहरूले तयार पारेका विभिन्न डिजाइनहरू ३० जना व्यवसायिक मोडलमार्फत १७ वटा सिक्वेन्समा प्रस्तुत गरिएको थियो । शोमा नेपाली फेसनका विविध शैली र सिर्जनशीलता झल्किएको देखिन्थ्यो ।
भारतका चर्चित कोरियोग्राफर यतिन गान्धीले शोको कोरियोग्राफी गरेका थिए भने सम्पूर्ण व्यवस्थापन नेक्स्ट मोडल्स नेपालले सम्हालेको थियो। कार्यक्रममा सहभागीहरूले यसलाई नेपालमा आयोजित फेसन शोमध्ये भव्य र आकर्षक कार्यक्रमको रूपमा प्रतिक्रिया दिएका थिए ।
नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले अहिलेसम्मकै उत्कृष्ट फेसन शो व्यवस्थापन गर्न सफल भएको बताए । उनले कार्यक्रमले नेपाली फेसन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
आईईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले नेपाली फेसन उद्योगलाई नयाँ उचाइमा पुर्याउने तथा नेपाली डिजाइनरहरूको सिर्जनालाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । उनका अनुसार शोले फेसनप्रेमीहरूको ध्यान आकर्षित गर्न सफल भएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।