नेपाल चलचित्र कलाकार संघको नयाँ अध्यक्षमा कलाकार उत्तम केसी निर्वाचित भएका छन् । आइतबार सम्पन्न संघको २१औँ साधारणसभा तथा अधिवेशनबाट केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा उत्तम केसीले २१६ मत प्राप्त गर्दै विजय हासिल गरे । उनका प्रतिस्पर्धी सबिन श्रेष्ठ ले १३२ मत प्राप्त गरेका थिए । संघको उपाध्यक्षमा पूजना प्रधान र शिवहरि बैरागी विजयी भएका छन् । पूजना प्रधानले १४४ मत प्राप्त गर्दा शिवहरि बैरागीले १४६ मत ल्याएका थिए ।
महासचिव पदमा सुनील कटवाल १९५ मतसहित निर्वाचित भए । सचिवमा गोपाल ढकाल २१४ मतका साथ विजयी हुँदा कोषाध्यक्षमा तेजुला खतिवडा १४९ मत प्राप्त गर्दै निर्वाचित भइन् । सह–कोषाध्यक्ष पदमा पवन केसी १६१ मतसहित विजयी भएका छन् ।
त्यस्तै, सदस्य पदमा १० जना कलाकार निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरूमा इन्द्रबहादुर लामा, चन्द्रकला दाहाल, श्रीदेव भट्टराई, चन्द्रकला राई, छुल्ठिम गुरूङ, जीवन थापा, दमन रूपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट र सुलेमान शंकर इकु रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षसम्म संघको नेतृत्व गर्नेछ ।