काठमाडौंमा विश्वप्रसिद्ध नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनाले सम्पन्न भएको छ । भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइसको विशेष उपस्थितिमा आयोजित फिनालेमा चार विधाका विजेताको घोषणा गर्दै प्रतियोगिताको समापन गरिएको हो ।
देशका पाँच विभिन्न सहर तथा भारतबाट आएका प्रतिस्पर्धीहरूको अडिसनमार्फत छनोट भएका उत्कृष्ट नृत्य प्रतिभाले फिनालेमा प्रभावशाली प्रस्तुति दिएका थिए । कडा प्रतिस्पर्धापछि जुनियर डिभिजनतर्फ रिधि सरकारले उपाधि जित्दा ‘पप इन स्माइली’ दोस्रो र दीपेश तथा ऋषि तेस्रो स्थानमा रहे । जुनियर टिम डिभिजनमा ‘क्रिएटर्स क्रु’ विजेता बनेको छ भने ‘एनडिए जुनियर’ दोस्रो र ‘पूर्वाञ्चल डान्स स्टुडियो’ तेस्रो स्थानमा रह्यो ।
त्यसैगरी, अपर डिभिजनमा साजन पाख्रिन प्रथम, साजन गुरुङ द्वितीय तथा ‘स्टार्स स्टेपर्स क्रु’ तृतीय घोषित भए । अपर टिम डिभिजनको उपाधि ‘टिम एनटी’ले जित्दा ‘इन्नेट सोल्स’ र ‘एस स्क्वायर फ्यामिली’ क्रमशः दोस्रो र तेस्रो बने । प्रत्येक विधाका विजेताले नगद १ लाख रुपैयाँसहित २४ क्यारेट सुनको जलप लगाइएको विशेष ट्रफी प्राप्त गरेका छन् ।
प्रतियोगिताको विशेष आकर्षण विजेता तथा फाइनलिस्ट टोलीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनु रहेको आयोजकले जनाएको छ । कलात्मक निर्देशक जेडी तमुका अनुसार अपर र जुनियर टिम डिभिजनका सबै फाइनलिस्ट टोलीहरूले अमेरिकामा हुने ‘वर्ल्ड फाइनल’, थाइल्यान्डको ‘ग्लोबल डान्स रेप्रिजेन्टेटिभ’ तथा हङकङमा आयोजना हुने ‘वर्ल्ड सुप्रिमेसी ब्याटलग्राउन्ड’मा सहभागिता जनाउँदै नेपालको प्रतिनिधित्व गर्नेछन् ।
राष्ट्रिय निर्देशक रोशन गहतराजले प्रतियोगिताले नेपाली नृत्य प्रतिभालाई विश्वमञ्चसम्म पुर्याउने महत्वपूर्ण माध्यम बनेको बताए । उनका अनुसार यो प्लेटफर्मले नेपाली नृत्य क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र नयाँ पुस्ताका नृत्यकर्मीलाई विश्वव्यापी अवसरसँग जोड्ने काम गरिरहेको छ ।
ग्रान्ड फिनालेमा नेपाली चलचित्र तथा मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । मिरुना मगर, तेरिया फौजा, दयाहाङ राई, परीक्षा लिम्बु, कविता नेपाली, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, शिल्पा मास्के तथा अभिषेक खड्कालगायत कलाकार अतिथिका रूपमा सहभागी भएका थिए ।
प्रतियोगिताको निर्णायक मण्डलमा बलिउडका चर्चित कोरियोग्राफर टेरेन्स लुइस, नेपालका चर्चित ‘वाइल्ड रिपर्ज क्रु’का सदस्य किरण थापा तथा कलात्मक निर्देशक जेडी तमु रहेका थिए ।
झम्सिखेलस्थित ‘द प्लाजा’मा आकर्षक र भव्य सेटअपका साथ सम्पन्न भएको यो कार्यक्रम डान्सरहरू स्वयं आयोजक बनेर यति ठूलो स्तरमा आयोजना गरिएको नेपालकै पहिलो नृत्य प्रतियोगितामध्ये एक मानिएको छ । सन् २००८ मा क्यालिफोर्नियाबाट सुरु भएको ‘वर्ल्ड अफ डान्स’ले नेपाली नृत्य प्रतिभाका लागि अन्तर्राष्ट्रिय अवसरको ढोका थप फराकिलो बनाएको आयोजकको विश्वास छ ।