दक्ष इन्टरनेशनलले ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२६’ को नयाँ संस्करण सार्वजनिक गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरेको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले यस वर्षको कार्यक्रम अघिल्ला संस्करणभन्दा अझ व्यवस्थित रूपमा सञ्चालन गरिने जानकारी दिएको हो ।
आयोजक संस्थाका अध्यक्ष तथा मेकअप आर्टिस्ट टेकराज पाण्डेका अनुसार यस वर्ष ‘मिस ब्युटिफुल नेपाल’ को ११औँ तथा ‘मिसेस ब्युटिफुल नेपाल’ को १०औँ संस्करण आयोजना हुन लागेको हो । प्रतियोगिताको अडिसन तथा छनोट प्रक्रिया असार २० गतेदेखि सुरु भइसकेको छ भने ग्राण्ड फिनाले साउन ३० गते राष्ट्रिय नाचघरमा सम्पन्न हुनेछ ।
पाण्डेले प्रतियोगिता केवल सौन्दर्य प्रदर्शनमा केन्द्रित नभई व्यक्तित्व विकास, नेतृत्व क्षमता, सञ्चार कला र आत्मविश्वास अभिवृद्धिको प्रभावकारी माध्यमका रूपमा स्थापित भएको बताए । उनका अनुसार अन्तिम चरणमा छनोट भएका प्रतियोगीहरूले करिब एक महिनासम्म अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकबाट व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, फेसन तथा ग्रुमिङलगायत विषयमा विशेष प्रशिक्षण प्राप्त गर्नेछन् ।
कार्यक्रममा अभिनेता धिरेन शाक्य, गायक आनन्द कार्की, कोरियोग्राफर आश्विनी कान्त झा, सामाजिक अभियन्ता रमेश बुढाथोकीसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सो अवसरमा अघिल्लो संस्करणका विजेताहरूलाई सम्मानसमेत गरिएको थियो ।
आयोजकले विवाहित तथा अविवाहित दुवै महिलाका लागि खुला रहेको यस प्रतियोगिताले महिला सशक्तीकरण, प्रतिभा प्रस्फुटन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय अवसरको ढोका खोल्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रमको इभेन्ट म्यानेजरमा गीता उप्रेती, बजार व्यवस्थापकमा मेघबहादुर विश्वकर्मा (मेघेन्द्र) तथा कोअर्डिनेटरमा कविता थापा रहने जनाइएको छ ।