थापागाउँस्थित मण्डला थिएटरले सफलतापूर्वक ‘लाहुरी भैँसी’ नाटकको मञ्चन सम्पन्न गरेसँगै अब नयाँ नाटक ‘इजलास’ प्रस्तुत गर्ने तयारी थालेको छ। आगामी असार १९ गतेदेखि श्रावण १० गतेसम्म नियमित रूपमा मञ्चन हुने यस नाटकको निर्देशन गुञ्जन दीक्षितले गर्नेछन् ।
‘इजलास’ प्रसिद्ध भारतीय नाटककार विजय तेन्दुलकरको मूल कृतिमा आधारित हो भने यसको भावानुवाद विजय विस्फोट (जे.बी. देउजा)ले गरेका हुन् । सामाजिक यथार्थ र न्याय प्रणालीसँग जोडिएका विषयवस्तु प्रस्तुत गर्ने अपेक्षा गरिएको यो नाटक मण्डलाको नयाँ प्रस्तुति हुनेछ ।
यसअघि मण्डला थिएटरमा जेठ २२ गतेदेखि नियमित मञ्चन भएको ‘लाहुरी भैँसी’ गत आइतबार सम्पन्न भएको थियो । अनुप न्यौपानेको निर्देशनमा तयार भएको उक्त नाटकले नेपाली ग्रामीण समाजको जीवन, संघर्ष, सपना र सामाजिक यथार्थलाई मञ्चमा उतारेको थियो ।
प्रख्यात कथाकार रमेश विकलको कथामा आधारित ‘लाहुरी भैँसी’लाई संयोग गुरागाईँले नाट्य रूपान्तरण गरेका थिए । ए. जे. बब स्टुडियो र क्रुक इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा तयार भएको नाटकमा नवीन ख्युङ्बा तामाङ, सुष्मिता कार्की, भास्कर बुढा, प्रेम देव विश्वकर्मा, रोशन कायस्थ, सुनिल राई, तरुण देउवा, श्रेया श्रेष्ठ, समीर भट्टराई, ज्योत्स्ना घिमिरे, मेलिना राई, पाल्देन घिसिङ र सेजल गौतमलगायत कलाकारहरूको अभिनय रहेको थियो ।