चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा वातावरण संरक्षणलाई प्राथमिकता दिँदै पशुपति क्षेत्रस्थित विश्वरूप मृगस्थलीमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । बोर्डको आयोजनामा तथा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफ, एमडी ३२५ नेपालको सहकार्यमा शनिबार सम्पन्न कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, निर्माता, निर्देशक, प्राविधिक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
नेपाल सरकारले सञ्चालन गरिरहेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’लाई समर्थन गर्दै आयोजित कार्यक्रममा वातावरणीय सन्तुलन कायम गर्ने, हरियाली प्रवर्द्धन गर्ने र स्वच्छ वातावरणप्रतिको सामूहिक दायित्वलाई व्यवहारमा उतार्ने उद्देश्य राखिएको बोर्डले जनाएको छ । साथै सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य बनाउने नेपालको प्रतिबद्धतालाई समेत स्मरण गर्दै चलचित्र क्षेत्रबाट वातावरण संरक्षणको सन्देश प्रवाह गरिएको हो ।
कार्यक्रममा चलचित्र ‘लालीबजार’की बाल कलाकार समाइरा थापाले प्रमुख अतिथिको भूमिका निर्वाह गरिन् । देशभरका १० वटा सिनेमा हलमा चलचित्रले ५१ दिन प्रदर्शन पूरा गरेको अवसर पारेर उनलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको थियो। वरिष्ठ कलाकार मिथिला शर्मा, गौरी मल्ल तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले समाइरा थापासँगै बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
वृक्षारोपण कार्यक्रममा बोर्डका पदाधिकारी, चलचित्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, कलाकार, निर्देशक, संगीतकार, गीतकार, प्राविधिक र पर्यावरणप्रेमीहरूको व्यापक उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले चलचित्र उद्योग मनोरञ्जन र संस्कृतिको माध्यम मात्र नभई सामाजिक तथा वातावरणीय उत्तरदायित्व निर्वाह गर्ने प्रभावकारी क्षेत्र पनि भएको धारणा व्यक्त गरेका थिए ।
चलचित्र विकास बोर्डले आफ्नो वार्षिकोत्सवलाई औपचारिक समारोहमा सीमित नराखी समाज र वातावरणसँग जोडिएको सकारात्मक अभियानका रूपमा अघि बढाएको जनाएको छ ।