नेपाली समाजको करिब एक शताब्दीअघिको जीवनशैली, सामाजिक संरचना र जातीय विभेदको यथार्थ चित्रण गर्ने उद्देश्यले निर्माण गरिएको नयाँ टेलिसिरिज ‘यो कथा होइन’ को औपचारिक घोषणा गरिएको छ । यससँगै सिरिजको पहिलो प्रोमो पनि सार्वजनिक गरिएको छ ।
गत मंगलबार अनामनगरस्थित डालो रेस्टुरेन्टमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा आयोजित विशेष समारोहमा सिरिजको घोषणा गरिएको हो । कार्यक्रममा कला, मनोरञ्जन तथा सञ्चार क्षेत्रका वरिष्ठ कलाकार, सञ्चारकर्मी र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ ले नेपाली सिरिज क्षेत्रमा श्रीप्रसाद थापाले पुर्याएको योगदानको प्रशंसा गर्दै उनको नयाँ सिर्जनाप्रति आफू आशावादी रहेको बताए । उनले शीर्षकले नै वास्तविक घटनाको संकेत गर्ने अनुभूति दिलाएको उल्लेख गर्दै पहिलो भाग हेर्न उत्साहित रहेको र सम्पूर्ण निर्माण टोलीलाई सफलताको शुभकामना व्यक्त गरे ।
सिरिजका लेखक, निर्देशक तथा मुख्य अभिनेता श्रीप्रसाद थापा का अनुसार ‘यो कथा होइन’ केवल मनोरञ्जनका लागि निर्माण गरिएको सिरिज होइन, बरु नेपाली समाजको इतिहास र सामाजिक यथार्थलाई उजागर गर्ने प्रयास हो । उनले करिब सय वर्षअघिको नेपाली समाज, त्यतिबेलाको जनजीवन, सामाजिक संरचना, जातीय विभेद तथा समाजमा विद्यमान विभाजनलाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको बताए। उनका अनुसार सिरिजले समाजका विविध पक्षलाई समेट्ने प्रयास गरेको छ ।
‘यो कथा होइन’ को कथा, लेखन, निर्देशन तथा मुख्य अभिनय श्रीप्रसाद थापाले नै गरेका छन् । सिरिजको छायांकन सागर खड्का, घरश्याम पोखरेल, शिवशरण न्यौपाने र रोशन पौडेलले गरेका छन् भने सम्पादन अशोक चौधरी र रोशन पौडेलको रहेको छ । सह–निर्देशन सन्देश लामिछाने र दीप्त प्रकाशले गरेका छन् ।