नेपाली साहित्यकार खेमनाथ दाहालको चर्चित श्रव्यकाव्य ‘अहोरात्र’ अडियोबुकका रूपमा सार्वजनिक भएको छ । गोल्डेन क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको अडियोबुकमा वरिष्ठ वाचक गणेश सुवेदीको वाचन रहेको छ ।
मानव जीवन, अध्यात्म, संस्कृति, सभ्यता तथा प्रवासी नेपालीहरूको जीवन–संघर्ष र मातृभूमिप्रतिको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको ‘अहोरात्र’ले हिन्दु, मुस्लिम, इसाई र बौद्ध दर्शनसँगै मानवता, सहअस्तित्व र विश्वबन्धुत्वको सन्देश प्रस्तुत गरेको छ ।
अडियोबुक सार्वजनिक भएसँगै देश–विदेशका नेपाली साहित्यप्रेमी, व्यस्त पाठक तथा दृष्टिविहीन श्रोताले समेत यस कृतिलाई सहज रूपमा सुन्न सक्ने भएका छन् । गणेश सुवेदीको भावपूर्ण वाचनले कृतिको साहित्यिक सौन्दर्यलाई थप प्रभावकारी बनाएको बताइएको छ ।
तेह्रथुममा जन्मिएका साहित्यकार खेमनाथ दाहाल कविता, महाकाव्य, उपन्यास, नियात्रा, समीक्षा र गीत–सिर्जनामा सक्रिय स्रष्टा हुन्। ‘श्वेतपत्र’, ‘रश्मि’, ‘हावर्डको चौतारीमा’ लगायतका कृतिका सर्जक दाहालका ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’ र ‘बित्छ बिहान आमाको’ जस्ता गीत पनि चर्चित छन् । साहित्यिक वृत्तले ‘अहोरात्र’को अडियोबुकले नेपाली श्रव्य साहित्यको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेको छ ।