नेपाली रंगमञ्चको अग्रणी संस्था सर्वनाम थिएटरले बालबालिकामा रहेको अभिनय प्रतिभाको पहिचान, विकास र प्रवर्द्धन गर्ने उद्देश्यसहित राष्ट्रव्यापी ‘म पनि Actor’ बाल अभिनय प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन सक्नेछन् । देशभरबाट प्राप्त आवेदनमध्ये उत्कृष्ट ३० जना छनोट गरी काठमाडौंस्थित सर्वनाम थिएटरमा प्रत्यक्ष अभिनय प्रस्तुति दिने अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यससँगै उत्कृष्ट पाँच प्रतियोगीलाई सर्वनाम थिएटरले सञ्चालन गर्ने तीन महिनाको अभिनय प्रशिक्षण निःशुल्क उपलब्ध गराइनेछ ।
आयोजकका अनुसार प्रतियोगिताले देशभर छरिएर रहेका बाल प्रतिभालाई उजागर गर्नुका साथै उनीहरूलाई व्यावसायिक रंगमञ्चसँग जोड्ने लक्ष्य राखिएको छ । विद्यालय, अभिभावक र स्थानीय समुदायको सक्रिय सहभागिताले कार्यक्रम अझ प्रभावकारी बन्ने विश्वास पनि सर्वनामले व्यक्त गरेको छ ।
प्रतियोगिताका लागि आवेदन दिने अन्तिम मिति २०२६ अगस्ट १० निर्धारण गरिएको छ । इच्छुक बालबालिकाले अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । सर्वनामले देशभरका विद्यालय, अभिभावक तथा सांस्कृतिक संस्थालाई बालबालिकालाई प्रतियोगितामा सहभागी गराई उनीहरूको सिर्जनात्मक क्षमता प्रदर्शन गर्ने अवसरको सदुपयोग गर्न आग्रह गरेको छ ।
वि.सं. २०३९ (सन् १९८२) मा स्थापना भएको सर्वनाम थिएटर नेपाली रंगमञ्चको प्रतिष्ठित संस्थामध्ये एक हो । चार दशकभन्दा लामो समयदेखि यस संस्थाले सामाजिक, सांस्कृतिक तथा समसामयिक विषयमा आधारित नाटक मञ्चन, अभिनय प्रशिक्षण र नयाँ पुस्ताका कलाकार उत्पादनमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।