फेसन क्षेत्रमा अग्रणी संस्था स्कूल अफ फेसन एन्ड इन्टेरियर डिजाइन (आईआईएफटी)ले आयोजना गर्दै आएको वार्षिक फेसन डिजाइन प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’ को १३ औँ संस्करण शनिबार साँझ सम्पन्न भएको छ ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको मुख्य प्रेक्षालयमा आयोजित कार्यक्रममा आईआईएफटी बागबजार र कुमारीपाटी शाखाका १५५ विद्यार्थीले आफ्ना मौलिक फेसन डिजाइन प्रस्तुत गरेका थिए । प्रतियोगितामा ‘डान्सिङ विथ द स्टार्स’, ‘अराउन्ड द वर्ल्ड’, ‘ग्यालाक्टिक फेसन’ र ‘अ प्यारालल युनिभर्स’ गरी चार फरक अवधारणामा डिजाइनहरू प्रदर्शन गरिएको थियो ।
चारै विधाबाट उत्कृष्ट डिजाइनर र पब्लिक च्वाइस अवार्ड विजेता छनोट गरिएको थियो। ‘डान्सिङ विथ द स्टार्स’तर्फ प्रेशा थापा उत्कृष्ट डिजाइनर घोषित हुँदा सुजाता खनालले पब्लिक च्वाइस अवार्ड जितिन् । ‘अराउन्ड द वर्ल्ड’ विधामा सुस्मिता ढुंगाना उत्कृष्ट डिजाइनर बन्नुका साथै पब्लिक च्वाइस अवार्ड पनि आफ्नै नाममा पारिन् ।
त्यसैगरी ‘ग्यालाक्टिक फेसन’तर्फ जया थापा उत्कृष्ट डिजाइनर घोषित भइन् भने अनुराधा बोहरा कार्की पब्लिक च्वाइस अवार्डबाट सम्मानित भइन् । ‘अ प्यारालल युनिभर्स’ विधामा सृजना श्रेष्ठ उत्कृष्ट डिजाइनर र श्रीति पाण्डे पब्लिक च्वाइस विजेता बने ।
उत्कृष्ट डिजाइनरहरूलाई जनही २० हजार रुपैयाँ नगद तथा पब्लिक च्वाइस विजेतालाई जनही १० हजार रुपैयाँ नगदसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहार प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ फेसन डिजाइनर तथा उद्यमी मुक्ता श्रेष्ठ, निभा श्रेष्ठ, निशा श्रेष्ठ, रजनी माली र फेसन डिजाइनर महेश महर्जन रहेका थिए । कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।
करिब तीन घण्टासम्म चलेको फेसन प्रस्तुतिमा विद्यार्थीहरूले सिर्जना गरेका मौलिक डिजाइनले दर्शकको मन जितेको थियो। आकर्षक प्रकाश सजावट, लयबद्ध संगीत र भव्य स्टेजमा डिजाइनरहरू स्वयं मोडल बनेर क्याटवाक गर्दै आफ्ना सिर्जना प्रस्तुत गर्दा कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरको फेसन शोको झल्को दिएको थियो ।
कार्यक्रममा अभिनेत्री दिया मास्के, एलिजा गौतम, टेलिभिजन प्रस्तोता तथा मिस इको इन्टरनेसनल सेजल राजभण्डारी र सञ्चारकर्मी ओसिन सिटौलालगायतको विशेष उपस्थिति तथा फेसन प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले ‘ड्रेस टु इम्प्रेस’लाई प्रत्येक वर्ष अझ भव्य र स्तरीय बनाउन कुनै कसर बाँकी नराखिएको बताए । उनका अनुसार यो कार्यक्रम विद्यार्थीका लागि नयाँ अवधारणा, मौलिक सिर्जना र रचनात्मक सीप प्रदर्शन गर्दै व्यावसायिक रूपमा आफूलाई अझ निखार्ने महत्वपूर्ण मञ्च बनेको छ ।