अमेरिकाको लस भेगासमा सम्पन्न ‘मिसेज वर्ल्ड-२०२२’ को उपाधि भारतकी सरगम कौशलले जितेकी छिन् । यो प्रतियोगितामा विश्वका ६३ वटा देशका विवाहित महिलाहरुले सहभागिता जनाएका थिए । उनीहरु आफ्नो देशमा विजेता हुँदै यो प्रतियोगितामा पुगेका थिए ।
उक्त प्रतियोगितामा नेपालबाट दीक्षा केसीले सहभागिता जनाएकी थिइन् । यद्यपि, यो प्रतियोगितामा उनी उपाधिविहिन् भइन् । मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेकी दिक्षाले मिसेस वर्ल्डमा यसै सम्बन्धित आफ्नो प्रोजेक्ट प्रस्तुत गरेकी थिइन् । उनले सुपी रसाइली एवम् मनिष राईद्वारा तयार पारिएको राष्ट्रिय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतारेकी थिइन् ।
भारतकी सरगमले भने २१ वर्षपछि आफ्नो देशका लागि यो उपाधि जितेकी हुन् । सरगम कौशलले मिसेज इन्डिया २०२२ को उपाधि जितेसंगै मिसेस वर्ल्डमा भारतको प्रतिनिधित्व गरेकी थिइन् ।
प्रतियोगितामा पोलिनेसियाकी प्रतिस्पर्धिले फस्ट रनर्सअप तथा क्यानाडाकी प्रतिस्पर्धिले सेकेण्ड रनर्स अपको उपाधि जिते । बेलायत, क्यानाडा, पोलिनेशिया, अल्बानिया, अमेरिका तथा भारतका प्रतिस्पर्धिहरु प्रतियोगिताको अन्तिम ६ सम्म पुग्न सफल भएका थिए ।
प्रतियोगितामा थाइल्याण्डले मोस्ट ओरिजिनल कस्ट्युम, फ्रान्सले मोस्ट ह्वीमसिकल कस्ट्युम, भारतले मोस्ट एक्जोटिक कस्ट्युम, श्रीलंकाले ओभरअल बेस्ट कस्ट्युम, सिंगापुरले पब्लिकेशन अवार्ड, इथियोपियाले फिटनेस अवार्ड, घानाले फोटोजेनिक तथा नर्वेले कन्जेनियालिटीको उपाधि जितेको छ ।
मिसेस वर्ल्ड-२०२२ की विजेता सरगम भारतको जम्मू–कश्मीरमा बसोबास गर्छिन् । मिसेस वर्ल्डको उपाधि जित्ने उनको सपना नै थियो । सरगम पेशाले एक शिक्षिका हुन् र प्रोफेशनल मोडल पनि हुन् । उनले अंग्रजी साहित्यमा पोस्ट ग्याजुएशन गरेकी छिन् । सरगमको विवाह सन् २०१८ मा भएको थियो र उनका श्रीमान् भारतीय नौसेनामा कार्यरत छन् ।
विवाह भएपछि नै सरगमले मिसेज वर्ल्ड जित्ने सपना देखेकी थिइन् । अहिले उनको सपना पुरा हुँदा उनको खुशीको सिमाना नै छैन । सरगम कौशल अति सुन्दर र कन्फिडेन्ट छिन् । यी सबै गुण नै उनको सफलताको रहस्य हो । सरगम उक्त प्रतिस्पर्धाका लागि लामो समयदेखि तयारी गरिरहेकी थिइन् । यसका लागि उनले आफ्नो फिटनेसमा विशेष ध्यान दिएकी थिइन् ।
फिटनेसका लागि उनले योगा, बडी वेट एक्सरसाइज र वेट ट्रेनिङ गर्थिन् । उनले आफ्नो डाइटमा पनि विशेष ध्यान दिने गर्थिन् । सन् १९८४ मा स्थापित मिसेस वर्ल्ड विवाहित महिलाहरूको पहिलो सौन्दर्य प्रतियोगिता हुनुको साथै उक्त विधाको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगितामा पर्दछ ।
प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रीका, अस्ट्रेलिया लगायतका महादेशका ६३ भन्दा बढी राष्ट्रहरूका प्रतिस्पर्धिहरु सहभागी भएका थिए ।