सिक्किम सरकारको निम्तोमा माघी मेलाको अवसरमा सिक्किमको जोरथाङमा आयोजित सांगीतिक कार्यक्रममा लोकप्रिय गायक प्रमोद खरेलले आफ्नो सांगीतिक ब्याण्डसहित लगातार दुई घण्टा भन्दा लामो समय कन्सर्ट दिएका छन् ।
जोरथाङको विशाल मैदानमा करिब २० हजार भन्दा बढी बाक्लो दर्शक सहभागितामा गायक खरेलले आफ्नो उत्कृष्ट सांगीतिक प्रस्तुति दिएका हुन् ।
दश जना वाद्य वादक संगीतकर्मीहरुको आफ्नो ब्याण्डसहित जोरथाङको स्टेजमा उक्लिएका गायक खरेलले आफ्नो लोकप्रिय गीत ‘म बाँचेकै तिमीसँग माया लाउन हो’ गीतबाट शुरुआत गर्दा दर्शकले तालीको गड्गडाहाट र हुटिङसहित स्वागत गरे ।
त्यसपछि आफ्नो बहुचर्चित गीत ‘मेरो दिल छ पोखरा’ मा लाइभ सुन्न पाउँदा दर्शकको हुटिङ झन् बढ्यो । त्यसपछि उनले हंगामा भो, ओए झुमा, यो कुरा गोप्यजस्ता आफ्ना लोकप्रिय गीतहरुमा प्रस्तुत गरिरहँदा झुमिरहेका दर्शकलाई नियन्त्रण गर्न आयोजकले प्रहरी नै तैनाथ गर्नु परेको थियो ।
आयोजक कमिटीका प्रकाश सेन्चिरी भन्छन्– ‘यो सिक्किममा आयोजना भएका कन्सर्टहरुमध्येकै उत्कृष्ट कन्सर्ट भएको छ । हामीले सोचेभन्दा उत्कृष्ट कन्सर्ट भयो ।’
आफ्ना गीतबाहेक अग्रज श्रस्टाको सम्मानमा गायक खरेलले प्रस्तुत गरेका गीतहरुको म्यासअपले पनि दर्शकको उसैगरी मन जित्यो ।
प्रायः कन्सर्टहरुमा ट्रयाक सिस्टममा गाउने गायक खरेल अचेल लाइभ ब्याण्डका साथैमा आफ्नो प्रस्तुति दिन थालेका छन् ।
गायक प्रमोद खरेल भन्छन्– ‘ब्याण्ड लिएर हिँड्न सजिलो छैन । तर, कन्सर्ट भनेकै लाइभ हो ट्रयाक होइन, लाइभ ब्याण्डसंगको कन्सर्टको मज्जा नै छुट्टै छ ।’
आफ्नो ब्याण्डलाई स्थापित गराउन लागि परेका गायक खरेल भन्छन्– ‘खर्चको दृष्टिकोणले आयोजकलाई कन्भिन्स गर्न गार्हो पर्छ, तर कार्यक्रमको लेभल नै फरक हुन्छ । म लाइभ कन्सर्टलाई नै जोड दिँदैछु । बरु संख्यामा कटौती गरेर भए पनि श्रोतालार्इ वास्तविक कन्सर्टको स्वाद दिन लागि परेको छु ।’
यसअघि ब्याण्डसहित उनी नेपालगञ्ज, काठमाडौं, झापा, असम (भारत) मा उत्रिसकेका छन् ।
नेपाली नयाँ वर्षमा दुबई कन्सर्टको तयारीमा रहेका उनले सिक्किम कन्सर्टका निम्ती समग्र सिक्किमलाई नै स्टेजबाटै धन्यवाद दिए ।