नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभागद्वारा आयोजित शास्त्रीय संगीत प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ । आइतबार महांकालस्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा भएको कार्यक्रमको सह–आयोजककोरुपमा नेपाल शास्त्रीय संगीत समाज रहेको थियो ।
शास्त्रीय संगीत प्रस्तुतिलाई चार चरणमा विभाजन गरिएको थियो । जसमा पहिलो चरणमा भिन्न षडज रागमा सुगमा गौतमको गायन रहेको थियो । तबलामा शशांक सापकोटा थिए भने भाइलिनमा यतिराज अधिकारी रहेका थिए । दोस्रो चरणमा मधुमद राग रहेको थियो । जसमा नगेन्द्र विक्रम राईको वादन रहेको थियो । नवराज गुरुङ तबलामा थिए भने गीता राई तानपुरामा थिइन् ।
यस्तै तेस्रो चरणमा मधुवन्ती रागको साथमा गायन जानु तामाङको थियो । तबलामा पारसमणी सुवेदी रहेका थिए । तानपुरामा गायत्री राना मगर थिइन् र हार्मोनियममा नवराज सापकोटा थिए । चौथो चरणमा भने शुद्घ सारंग राग रहेको थियो । जसमा सन्तोषभक्त श्रेष्ठको ईशाराज वादन थियो । तबलामा विदुरराज कर्णीकार थिए भने तानपुरामा सिर्जना दुलाल रहेकी थिइन् । कार्यक्रममा झरना श्रेष्ठले भरत नाट्यमअन्तर्गत रही नृत्य प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै नेपाल शास्त्रीय संगीत समाजका अध्यक्ष धनबहादुर गोपालीले कार्यक्रम विद्यालयमा सञ्चालन गर्नुको उद्देश्य शास्त्रीय संगीतबारे युवा पिढीलाई जागृत गर्नु रहेको बताए । उनले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभाग र नेपाल शास्त्रीय संगीत समाजले संगीत परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको पनि जानकारी दिए ।
यस्तै शास्त्रीय संगीतकार विजय कुमार श्रेष्ठले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शास्त्रीय संगीतका वास्तविक साधकमा विशेष प्रकारको गुण हुने बताए । उनले भने, ‘संगीतकारले संसार बिर्सन सक्छ, संगीतका वास्तविक साधक सधैं मानिसको मनमा बस्छन् ।’ उनले कलाकारलाई आफ्नो संघर्षले सबैलाई आकर्षण गर्ने खुबी राख्न आग्रह गरे ।
उनले भने, ‘सफलतामा हतार गर्नु हुन्न, सगरमाथा चढ्दा जुन पाइला बनाइन्छ, त्यसलाई पछ्याउँदै ओर्लने हो, हतारमा हाम फाले कता पुगिन्छ थाहा हुन्न ।’ नेपालमा शास्त्रीय संगीतको क्षेत्र सुक्ष्म रहेको श्रेष्ठको भनााइ छ । उनले यसलाई बृहत् बनाउन यस्ता किसिमका कार्यक्रम आयोजना गरिरहन प्रतिष्ठानसमक्ष आग्रह गरे ।