अमेरिकाको लस एञ्जलसको डल्बी थिएटरमा द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसले सन् २०२४ मार्च १० आइतबार ९६औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त अवार्डमा सहभागिता जनाउनका नेपाली फिल्महरुलाई समेत आह्वान गरिएको छ । उक्त अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिताका लागि आह्वान गरिएको हो ।
९६औं अस्कर अवार्ड प्रतियोगितामा सहभागि हुन चाहने सबै नेपाली फिल्म निर्देशक तथा निर्माताहरूलाई आफ्नो फिल्म २०२३ सेप्टेम्बर १५ तारिख अर्थात् भदौ २९ गते शुक्रबार साँझ ५ बजेभित्र समितिको सचिवालयमा सम्पर्क गरी दर्ता गराउन आग्रह गरिएको छ । छनाट समितिको आइतवारको वैठकले यो निर्णय गरेको हो ।
प्रतियोगितामा सहभागिताका लागि केही शर्तहरु पुरा गर्नु पर्ने छ । जस अनुसार प्रतिस्पर्धामा भाग लिन चाहेको फिल्म सन् २०२२ डिसेम्बर १ तारिख अर्थात् २०७९ असोज १५ गते भन्दापछि तथा सन् २०८० सेप्टेम्बर ३० तारिख अर्थात् २०८० साल असोज १४ गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएको हुनु पर्नेछ । सहभागि हुन चाहने फिल्मले सेन्सर गरिएको प्रमाणपत्र, सिनेमा हलमा रिलिज नभएर ओटीटीमा रिलिज भएको हो भने त्यसको प्रमाण, ३५ एमएम वा ७० एमएमको भिडियो वा २४–४८ फ्रेममा प्याकेज गरिएको डिजिटल फिल्म हुनु पर्नेछ ।
त्यसका साथै २०४८ देखि १०८० पिक्सेलसम्म प्रोजेक्सन रेजुल्युसन भएको डिजिटल फिल्च, ५.१ अथवा ७.१ मा उपलब्ध अडियो, निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूको नामावली (क्रेडिट टाइटल्स् फिल्ममा देखाइएको क्रममा), अंग्रेजी भाषामा लेखिएको फिल्मको संक्षिप्त सारांश (कथासार), निर्देशकको फिल्मोग्राफी र फोटो, सम्बन्धित फिल्मका तीन देखि पाँच वटा तस्बिर, फिल्म रिलिज हुँदाको एउटा अफिसियल पोस्टर, फिल्म प्रदर्शन गराउँदा उक्त फिल्म सात दिनभन्दा बढी सिनेमा हलमा सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने समाचार तथा सञ्चार माध्यमहरूमा छापिएका विज्ञापनका कटिङहरू उपलब्ध गराउनु पर्नेछ ।
