गत १० भदौदेखि विराटनगरबाट सुरु भएको गाईजात्राको अवसर पारेर हास्य कलाकार मनोज गजुरेलको समूहले आयोजना गरेको गाईजात्रे कमेडी कार्यक्रम ‘८० सालको गाईजात्रा’ सकिएको छ । कार्यक्रम २३ भदौमा दाङमा पुगेर सकिएको हो ।
काठमाडौँ लगायत देशका विभिन्न १० स्थानमा ‘८० सालको गाईजात्रा’ कार्यक्रम प्रदर्शन भएको कलाकार मनोज गजुरेलले जानकारी दिए । ‘८० सालको गाईजात्रा’ मनोजको अलवा शैलेन्द्र सिम्खडा, सुबोध गौतम, गायक टीका भण्डारी, कमेडी च्याम्पियनका सुन्दर खनाल र म्याक्सम गौडेल, कमेडियन सीता न्यौपाने, प्रभात लामा र रुबिना अधिकारी सहभागी थिए ।
हरेक वर्षको गाईजात्रामा फरक पात्रको रूपमा दर्शकका अगाडि उभिँदै आएका मनोज गजुरेल यो पटक स्वर्गीय मदन भण्डारी र अमेरिकी धनाढ्य एलन मस्कका हजुरबा एलियन मस्कका रूपमा देखिएका थिए ।
‘बीपी कोइरालाको स्वर्गालयमा मदन भण्डारीको प्रवेश’ शीर्षकको प्रहसनमा बीपी कोइरालासँग भण्डारीको स्वर्गको भेट काल्पनिक प्रहसनमा नेपाली राजनीतिदेखि भ्रष्टाचार, समाजका चर्चित घटना र हत्याकाण्ड व्यङ्ग्यका विषय थिए ।
कार्यक्रममा गजुरेलको एलियन मस्कको प्रस्तुतिमा कलाकार प्रभात लामाले महावीर पुनको रूपमा साथ दिएका थिए । मेक्सम गौडेलको छबि लामिछानेदेखि सुन्दर खनालको चिप्लाउने अंकलको गेटअफ समेत कार्यक्रममा रहेको थियो । खनाल र गौडेलको प्रस्तुति ‘कार्यक्रम द चिप्लेटी शो’ मा युवाको विदेश मोह, नेताको शिक्षादेखि कर्मचारीको हाजिरसम्म विषयमा ब्याङ्ग्य हानिएको थियो ।
विगतका वर्षको तुलनामा यो वर्षको जाइजात्रा कार्यक्रमको अनुभव बेग्लै रहेको कलाकार मनोज गजुरेलले बताए । उनले गाईजात्रा हेर्ने संस्कार मर्दै गएको पाइएको बताए । ‘विभिन्न प्रायोजकलाई कार्यक्रमका शो बेचेकोले हामीलाई दर्शकको कमी त भएन’ गजुरेलले भने– ‘तर टिकट काटेर कमेडी हेर्ने भीड लाग्ने पहिले जस्तो दर्शक अहिले देखिएनन् ।’