मिस धरान आईकन को दोस्रो संस्करणको पहिलो अडिसन सम्पन्न भएको छ । मंगलबार धरानस्थित हाङ्गकोक सारंग कोरियन रेस्टुरेन्टमा उक्त अडिसन भएको हो । अनलाइन फर्म तथा धरानका बिभिन्न कलेज एक्टिभेशन पश्चात भएको पहिलो अडिसनमा ११ जना प्रतियोगीहरुले भाग लिएका थिए ।
धरानका युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा मिस धरान आईकन २०२३ हुन लागेको हो । कम्तीमा एसईई उतिर्ण धरानका युवतीहरु भाग लिन पाउने मिस धरान आईकन २०२३को पहिलो अडिसनमा निर्णायकहरु कोरियोग्राफर प्रोजिता लामा, मिस धरानआईकन फर्स्ट रनर अप प्रेजिना राई र सेकेन्ड रनर अप श्वेता बिस्वकर्मा पोख्रेल रहेका थिए ।
यही हफ्ता अन्य अडिसन गरी छानिएका प्रतियोगीहरुलाई २० दिनको प्रशिक्षण दिईनेछ । मिस धरान आइकन २०२३ को कोरियोग्राफी मिस तामांग २०१९ प्रदेश १ बिजेता तथा मिस टुरिज्म क्विन वर्ल्डवाइड २०१९ मा बेस्ट इस्माइलको टाइटल बिजेता प्रोजिता लामाले गर्नेछिन् ।
छानिएका प्रतियोगीहरुलाई व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ । मिस धरान आइकन २०२३ बिजेता , फर्स्ट रनर अप, सेकेन्ड रनर अप संगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका बिभिन्न सब टाइटलको उपाधिसंगै बिजेताहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
बिजेताले पचास हजार , फर्स्ट रनर अपले तीस हजार र सेकेन्ड रनर अपले बीस हजार लगायतका बिभिन्न पुरस्कार पाउनेछ भने ट्रेनीङ्ग खर्च पाँच हजार मात्र राखिएको ब्ल्याक पिग इन्टरटेनमेन्टका हरिहांग तिगेलाले बताए । मिस धरान आइकन२०२३ को ग्रान्ड फिनाले आगामी असोज २६ गते शुक्रबार धरानमा हुनेछ ।