अभिनेत्री उषा रजकले अनुप बरालमाथि आरोप लगाएकी छिन् । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत् लामो स्टाटस लेख्दै फिल्म ‘कागबेनी’बाट आफूलाई हटाएर दीया मास्केलाई मुख्य पात्रमा कास्ट गरिएको दाबी गरेकी छन् । उनले अभिनेता अनुप बरालको दबाबमा निर्देशक भुषण दाहालले दीयालाई कास्ट गरिएको आरोप लगाएकी हुन् ।
‘राता रात म आउट र दिया मास्के इन हुनुभयो । त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ । त्यो दिन मैले एक गुरुको अर्कै रुप देखेकी थिएँ, मैले जीवनको एक कालो पाटो देखें,’ रजक लेख्छिन्, ‘ यो कुराको न त मसँग प्रुफ छ, न त आज भुषण दाइले मान्नु हुनेछ कि वहाँले अनुप सरको प्रेसरमा आएर वहाँको कुरा मान्नु भयो । दाइको पहिलो फिल्म थियो, वहाँ नर्भस हुनुभयो होला ।’
रजकले बरालविरुद्ध कास्टिङ काउचको आरोप पनि लगाएकी छन् । उनी यसबारे लेख्छिन्, ‘ त्यो बेला अलि दिनमा आँट बटुलेर अनुप सरलाई के भाको सर यस्तो भन्दा कता(कता कुरा मोडेर डिनर जाने कुरा प्रस्ताव गर्नुभएको याद छ । १९ वर्षकी सायद मैले बुझिनँ, अथवा बुझ पचाएँ, र खुरुक्क गएर चुपचाप क्लासमा बसें । १७ वर्षसम्म यो कुरामा पब्लिकमा बोलिनँ, हो म अलिकति त काँतर नै हो । कास्टिङ काउच सबैतिर हुन्छन्, मनले रुचेकोलाई रोल दिन पाइयो, तर एक शिक्षालय खोलेर, विद्यार्थी तथा कलाकारलाई समान मौका दिनुभन्दा नेपोटिज्म र फेभरेटिज्म किन ’‘कागबेनी’को मुख्य पात्रको लागि निर्देशक दाहाल र टिमले आफूसहित पूजा गुरुङ, शिवानीसिंह थारु, दीया मास्के, आशा मगरातीसँग अडिसन लिएको रजकले बताएकी छन् ।