भारतीय टिभी रियालिटी शो इण्डियन आइडलमा नेपालकी मेनुका पौडेलले मर्मस्पर्शी प्रस्तुति दिएकी छन् । उनको प्रस्तुतिले जजबाट ‘स्ट्यान्डिङ ओभेसन’ सहित ‘गोल्डेन माइक’ समेत जितिन्।
अडिसन राउण्डमा ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाएकी मेनुकाको गायकीमा तीनै जज भक्कानिए । त्यसपछि उभिएर सम्मान प्रदान गरे ।
जज कुमार सानुले भने, ‘तिमीले मेरो लागि धेरै काम गरिदियौ । आजको दिनदेखि मैले जुन संगीत बनाउँछु, त्यो भिन्न हुनेछ । यसको कारण तिमी हौ ।’
त्यसपछि जज ददलानीले त भगवानलाई अघि देखिरहेको भन्दै मेनुकाको गायकीको प्रशंसा गरे । उनले भने, ‘हामी संगीतकर्मी जुन चीजलाई पुज्छौं नि, त्यसलाई अघि देखिरहेका छौं । म जुन चिजलाई पुज्छु, त्यो तिमी आफैं हौ । श्रेया रोइरहेकी छिन् । म रोइरहेको छु । यसको अर्थ हामीले संगीतलाई आज मनैदेखि सरी भन्नुपर्छ ।’
श्रेया घोषालले पनि मेनुकाले आफूभित्रको संगीत जागेको भन्दै स्पष्टता प्रदान गरेको बताइन् । ‘तिमी को हौ, तिमी आफैंलाई थाहा छैन मेनुका, यसकारण मलाई मजा आयो । मलाई लाग्दैन कि इण्डियन आइडलमा अरु कसैले यति राम्रोसँग गाएको छ ।’
तीनै जजले मञ्चमा उक्लिएर मेनुकालाई गोल्डेन माइक प्रदान गरे । साथै अर्को भारतीय रियालिटी शो ‘सारेगमप’मा पनि सहभागिता जनाएकी थिइन् ।