लोक रक ब्याण्ड नेपथ्यले आफ्नो क्यानडा टुर समापन गरेको छ । पहिलोपटक क्यानाडामा प्रस्तुत भएको ब्याण्डले क्यानडाको क्यालगरी सहरबाट सुरु गरेको सांगीतिक यात्रा भ्यानकुभर हुँदै टोरन्टोमा टुंग्याएको हो ।
टोरन्टोको ऐतिहासिक भव्य सभागृह ‘मेस्सी हल’मा गर्विलो प्रस्तुति दिंदै गर्दा कन्सर्ट हेर्न आउने दर्शकले तीनतल्ले मेस्सी हल खचाखच थियो । ‘यति महत्वपूर्ण हलमा उस्तै महत्वपूर्ण तवरले नेपथ्य प्रस्तुत भइदियो,’ टोरन्टोका मिङमा नोर्गे शेर्पा भनिरहेका थिए, ‘दर्शकका रुपमा उपस्थित हुँदा पनि त्यो एउटा नेपालीले गर्व गर्ने क्षण बनिदियो ।’ मिङमाका अनुसार प्रस्तुतिदेखि लिएर सहभागितासम्मका हिसाबले यस्तो भव्य अनुभूति थियो ।
स्थानीय समयअनुसार बेलुकीको ठीक सात बजे पहिलो प्रस्तुतिका रुपमा ‘सा कर्णाली’ म्युजिक भिडियो बज्नासाथ तीनतल्ले हलको टनाटन दर्शक घेराले उत्तेजना र उत्साहको आवाज गुञ्जायो । त्यसपछि कन्सर्ट अवधिभर त्यो न्यानोपन उस्तै रह्यो ।
‘कोशीको पानी यो जिन्दगानी’ गाउँदै नेपथ्यका सदस्य स्टेज चढे । त्यसपछि लगातार नयाँ र पुराना गीतहरु एकपछि अर्को प्रस्तुत हुँदै गए ।
गीत गाउँदै अमृतले दर्शकसँग बीचबीचमा संवाद पनि गरे । ‘नेपालीहरु जतासुकै फैलिए पनि हामी सबैको साझा घर नेपालै हो,’ अमृतले भने, ‘तपाईंहरुले यहाँ सिकेको सीप र आर्जन गरेको धन जोडेर स्वदेशको निर्माण गर्नुपर्छ ।’ उनले विदेशमा बसेका बेला नेपालीहरु एकजुट हुनुपर्ने आवश्यकता पनि औंल्याए । यतिबेला मुलुकभित्र विभाजन ल्याउन खोज्नेहरु विरुद्ध पनि अमृतले खबरदारी गरे ।
टोरन्टोमा नेपथ्यको कन्सर्ट हेर्नका लागि छिमेकी मुलुक अमेरिकाबाट पनि उल्लेख्य संख्यामा दर्शक आएका थिए ।
नेपथ्यले तीव्र दर्शक उत्तेजनाकै बीच ‘रातो र चन्द्रसूर्य’ गीतबाट आफ्नो प्रस्तुतिको समापन गरेको थियो । कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।
टोरन्टो प्रस्तुतीसँगै क्यानाडाको श्रृंखलावद्ध यात्रा समाप्त भएपछि अब १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अक्टोबर १२ तारिखका दिन स्वदेश फर्कँदैछ ।