राष्ट्रिय नाचघर जमलमा अग्रज लोकगायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ सम्पन्न भएको छ । शुक्रबार आयोजित ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८०’ लाई नाम दिइएको उक्त कार्यक्रममा गायिका थापाले करिब २ घण्टा गायन प्रस्तुति दिइन् ।
केही युगल गीतमा संगीतकार समेत रहेका छोरा सुरजकुमार थापाले उनलाई साथ दिए । अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजना र काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भवन कन्ट्रक्सनको सह आयोजनामा सम्पन्न कार्यक्रममा ‘डाँडामाथि बिहानै’ बोलबाट सुरु भएको प्रस्तुतिमा गायिका थापाले आफ्ना थुप्रै चर्चित गीतहरू पस्किइन् ।
गायिका थापाले म त खाँदिनँ कुवाको पानी हो, ढुङ्गे बगर माया, झम्के फूली, नाकैमा बुलाकी, उकालीमा पनि हजुर मोटर जाँदो रैछु, बारीको डिलमा ओखरबोट, माछी मार न हे दाइ हो लगायत डेढ दर्जन गीत गाउँदा दर्शक गीतमा झुमे । झम्के फूलीमाथिको अन्तिम प्रस्तुतिपछि दर्शकले माछी मार नको फर्माइस गरे । दर्शकको आग्रहपछि उनले उक्त गीत पुनस् गाइन् ।
कार्यक्रममा २ वटा नेवारी गीतमाथि पनि गायिका थापाले प्रस्तुति दिइन् । दाइ काँ को बोलको गीतमा रचनाकार रत्न बेहोशीले उनलाई गायनमा साथ दिए । एकल साँझ गर्ने आमाको सपनालाई पूरा गर्न पाउँदा संगीतकार सुरज दंग थिए । मेरो सपना पूरा भयो । आमाका लागि यति गर्न पाएँ, मेरो जीवन सफल भयो । आमालाई यसरी नै आागामी वर्षहरूमा गाउन लगाइरहन पाऊँ, सुरजले भने ।
कार्यक्रममा बरिस्ठ संगीतकार रन्जीत गजमेर ,गायिका मीरा राना , गीतकारहरु डा। भोला रिजाल, आनन्द अधिकारी, दिनेश अधिकारी , सिएनएन हिरो अनुराधा कोइराला, गायकहरु सत्यस्वरुप ,लगायत संगीत क्षेत्रक व्यक्तित्वहरुको बाक्लो उपस्थिती थियो।