मंसिर २३ गतेदेखि २६ सम्म नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौँमा आयोजना हुने भएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा हुने महोत्सवको यो ११ औं हो । नेपाल पर्यटन बोर्ड र चावहिलस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने महोत्सव ४ दिन चल्नेछ ।
‘सामूहिक अधिकार’ नारासहित उद्घाटन गरिने महोत्सवमा सुभांगी खड्काको वृत्तचित्र ‘द एज अफ लर्निङ’ प्रदर्शन गरिनेछ । विश्वभरबाट खुल्ला आवेदनबाट संकलन गरिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा चलचित्र महोत्सवमा प्रदर्शन गरिनेछ ।
महोत्सवमा नेपाल लगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्याण्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्कि, क्रोएसिया, इटली, अयारल्याण्ड, किर्जिस्तान, जर्जिया, पोल्याण्ड, ताजिकिस्तान, नर्वे, युक्रेन, बङ्गलादेश र भारतबाट प्राप्त मानवअधिकारका विषयमा निर्मत चलचित्र तथा वृत्तचित्रहरु सहभागी छन् ।
महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई छन् । महोत्सवमा जुरीबाट छनौट भएका उत्कृष्ट पाँच चलचित्रहरुलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय शर्ट फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगद सहित पुरस्कार प्रदान गरिने छ । त्यस्तै महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ ।
महोत्सवका लागि ८७ देशबाट ९०० बढी चलचित्रको आवेदन परेको थियो । महोत्सवमा लैगिंकता, जातीय विभेद, द्वन्द्व, बासाइँसराई, पर्यावरण, मानवअधिकार जस्ता विषयमा बनेका डकुमेन्ट्री, सर्ट र फिक्सन चलचित्रहरु प्राथमिकता परेका छन् ।