सोमबार बिहान काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा महत्त्वाकाङ्क्षी नेपाली सिरिज खेलको शुभमुर्हत गरिएको छ । मन्दिरमा सिरिजका निर्देशक, कलाकारहरू तथा प्राविधिकहरूको उपस्थितिमा क्यामेरा र स्क्रिप्ट पूजा गरिएको हो ।
अनुराग प्रधानले निर्देशन गर्ने यस सिरिजमा अभिनेत्री सुरक्षा पन्तले प्रमुख अभिनय गर्दै छिन् । पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यम प्रसाद ओली लगायतको अभिनय रहनेछ । सिरिज काठमाडौँ भित्र करिब एक महिना छायाङ्कन हुनेछ । निर्देशक प्रधानले एक सय वर्ष अगाडीको काठमाडौँको सेटअपमा पुरै सिरिज छायाङ्कन हुने बताए ।
विश्वभर लोकप्रिय रहेको ओटीटी प्लेटफर्म नेटफ्लिक्सको प्राविधिक मूल्याङ्कनमा आधारित रही बन्ने यो सिरिजको पहिलो सिजन पाँच शृङ्खलाको हुने प्रधानले बताए । प्रधानले आफूलाई नेटफ्लिक्सले आफ्नो गुणस्तरमा सिरिज बनाई पेस गरेपछि मूल्याङ्कन गरी रिलिज गर्ने जानकारी दिए ।
पौराणिक र अध्यात्ममा आधारित यो सिरिजमा चार जना साथीहरूको कथा रहनेछ । सिरिज अभिनेत्री सुरक्षा पन्तले आफू पहिलेदेखि नै ओटीटीको वकालत गर्दै आएको बताइन् । उनले अब बन्ने चलचित्र तथा सिरिजहरू हलमा मात्र सीमित हुन नहुने बताउँदै नेटफ्लिक्सको गुणस्तर र लक्ष्यमा बनिरहेको सिरिजमा काम गर्न पाउँदा खुसी रहेको जनाइन् । सिरिजमा आफ्नो भूमिकाबारे बताउँदै उनले भनिन्, अध्ययनको लागि काठमाडौँको होस्टेलमा बस्ने साथीहरूले अध्यात्ममा आधारित खेल खेल्दै गर्दा वास्तविक जीवनमा हानी पुगेपछि त्यसबाट उम्किनलाई पुनः खेल्ने खेल कथा हो । चार जना केटी साथीहरूको टिमको प्रमुखको रूपमा मैले काम गर्दै छु । कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानी हुन्छ भन्ने दर्साउन खोजिएको छ ।
सिरुपाते कट्स प्रालिले निर्माण गर्ने यस सिरिजका निर्माताहरू आशिष राज महर्जन र लेविस राज महर्जन हुन् भने सह निर्माता कुनाल गुरुङ हुन् । निर्माता आशिषको कथामा निर्देशक प्रधानले पटकथा लेखेका छन् । यसका सिनेमाटोग्राफर रोशन राई हुन् । सिरिजमा एलेक्स बसुकलाको कस्ट्युम डिजाइन, किशोर नेपालको कला निर्देशन, आस्था श्रेष्ठको सह निर्देशन रहनेछ भने यम प्रसाद ओली प्रोडक्सन विभाग प्रमुख हुन् ।