काठमाडौंकी सिरोसा सापकोटाले मिसेस नोबेल नेपाल–२०२४ को ताज पहिरिन सफल भएकी छिन् । ताजसँगै उनले यही चैतमा इजिप्टमा हुने एनएफईए अवार्ड–२०२४ मा इन्ट्री टिकटसमेत प्राप्त गरेकी छिन् ।
हिमायलन मुभिज प्रोडक्सन हाउसद्वारा आइतबार अपराह्न राजधानीको म्युजिक सिटी स्टुडियोमा आयोजित कार्यक्रममा शिला श्रेष्ठ फस्ट रनरअप र जुना भण्डारी सेकेन्ड रनरअप घोषित भए ।
कार्यक्रमको निर्णायकमण्डलमा अभिनेता तथा चलचित्रकर्मी विशाल विष्ट, मोडल नायक मनिष राउत, मिसेस हिमालयन नेपाल–२०२० माया लामा, व्युटिसियन नेपाल–२०२१ तथा मोडल मन्जु थापा र मिसेस हिमालयन नेपाल–२०२३ अनुषा केसी रहेका थिए ।
कार्यक्रममा विविध सब–टाइटलहरूसमेत वितरण गरिएको थियो । जसमा सिरोसा सापकोटा मोस्ट इन्टिलिजेन्ट, शिला श्रेष्ठ मोस्ट करिज्म्याटिक, जुना भण्डारी मोस्ट एट्राक्टीभ, रोशनी श्रेष्ठ मोस्ट स्मार्ट, निशा दुवाल मोस्ट डिलिजेन्ट, बुद्धिसरा अर्याल मोस्ट अनेस्ट, सिता राउत मोस्ट प्यासोनेट र रिया दाहाल बेस्ट फोटोजेनिक एवम् पब्लिक भिडियो च्वाइस अवार्ड प्राप्त गर्न सफल भए ।
कार्यक्रममा कलाकारहरूले आकर्षक नृत्यसमेत प्रस्तुत गरेका थिए । विवाहित महिलाहरूले आफूलाई आफ्नो घरपरिवार, व्यवसाय सम्हाल्दै स्टेजसम्मको यात्रा तय गरी आफूलाई प्रमाणित गर्न सक्छन् भन्ने कुरा दर्शाउन र महिलाहरूमा निहित प्रतिभाको प्रस्फुटन गराउन कार्यक्रमको आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।