नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आगामी चैत १ देखि ५ गतेसम्म काठमाडौँ हुने ‘सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’ मा यस वर्ष ४० देशका ८८ चलचित्र छनोट भएका छन् । आयोजकले मङ्गलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै विश्वका विभिन्न कुनामा बनेका उत्कृष्ट चलचित्रलाई महोत्सवमा प्रदर्शन गरिने जानकारी दिएको हो ।
प्रतिष्ठान तथा महोत्सवका अध्यक्ष केपी पाठकले यस पटकको महोत्सवका लागि ६० देशबाट ५ सय बढी चलचित्र प्राप्त भएको बताए । ‘यीमध्ये हामीले ४० देशका ८८ चलचित्र मात्र छनोट गर्न सक्यौँ । छानिएका चलचित्रहरू कान्स, लोकार्नो, बर्लिनालजस्ता प्रतिष्ठित चलचित्रमा प्रदर्शन भइसकेका छन्’, उनले भने ।
उनले फेस्टिभललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा विभाजन गरी दुवै भागमा फिचर चलचित्र, सर्ट चलचित्र र वृत्तचित्र विधामा अवार्ड प्रदान गरिने बताए । यस वर्ष छनोट भएका चलचित्रहरू क्युएफएक्स चेन अन्तर्गत सिभिल मल, लबिम मल, भक्तपुर र छाया सेन्टरका हलमा प्रदर्शन गरिने आयोजकले जनाएका छन् ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलर राशिको ‘गौतम बुद्ध अवार्ड’, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर चलचित्रबाट एउटालाई ‘चलचित्र समाजहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफएफएस) डन क्विहोटे अवार्ड’ प्रदान गरिनेछ ।
यसै गरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर चलचित्रलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी, सर्ट चलचित्रमध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी, फिचर चलचित्रतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।
त्यस्तै महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट सर्ट चलचित्रलाई ५ सय डलर राशिको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ ।