चलचित्र बिकाश बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’को संयोजकमा निर्माता ज्योती राज राई नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजक नियुक्त गरेका हुन् ।
राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए । हाल उनी आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्ष र नेपाल चलचित्र निर्माता संघको कोषाध्याक्ष पनि हुन ।
बोर्डले राईको संयोजकमा छ सदस्यको समिति गठन गरेको हो । जसको सदस्यमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योङ्गहाङ, सगिना सुनुवार, अमृतामाया माझी रहेका छन र हरिसिंह रैखोला समितिको सदस्य सचीव रहेका छन् ।
आदिवासी जनजाती चलचित्र महासंघको सिफारिसमा राई संयोजक नियुक्त भएका हुन् । सात प्रदेशका बिभिन्न १६ जातीबाट सिफारिस भएर आएका बिभिन्न ब्यक्ति मध्यबाट आदिवासी जनजाती महासंघले चलचित्र बिकास बोर्डलाई एक ब्यक्ति संयोजक र अरु सदस्यहरुका लागि सिफरिस गर्ने सोही अनुसार बोर्डले संयोजक नियुक्त गर्ने प्रावधान छ ।
समितिले देशभर छरिएर रहेका आदिवासी चलचित्रकर्मीको ब्यक्तित्व बिकास, आदिवासी चलचित्रको प्रवद्र्धन र बजार बिस्तार गर्दै सक्षम बनाउने काम गर्छ । आफ्नो कार्यकालमा बिभिन्न भाषामा निर्माण हुने चलचित्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार बिस्तार गर्ने, नितिगत रुपमा समेत सक्षम बनाउने मुख्य लक्ष्य लिएको संयोजक राईले बताए । ‘हाम्रो भाषा, संस्कृति र कल्चरलाई समेत फिल्मको मध्यमबाट समेट्न प्रोत्सान गर्नेछु’ राइले थपे ।