प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको परिकल्पना तथा निर्देशनको नेपाली नाटक ‘क्लेशाः’ २३ औँ भारत रंग महोत्सवमा छनौट भएको छ । विश्वको प्रतिष्ठित नाट्य महोत्सवमध्ये एक ‘भारत रंग महोत्सव’ मा यसपटक नेपालको एकमात्र नाटक छनौटमा परेको निर्देशक विजया कार्कीले जानकारी दिइन् ।
‘क्लेशाः’ आउँदो फेब्रुअरी १७ र १९ सम्म मञ्चन हुनेछ । सो नाटक महोत्सवमा सन् २०२२ को लागि छानिएको थियो । तर कोभिडका कारण त्यस समय महोत्सव हुन सकेन । महोत्सव अन्तर्गत नेपाली नाटक ‘क्लेशाः’ को नयाँ दिल्ली र रामनगरमा गरी दुई मञ्चन हुनेछ ।
भारतको नाट्य प्रज्ञा प्रतिष्ठानको मातहत रहेको राष्ट्रिय नाट्य विद्यालय (एनएसडी)ले वार्षिक रूपमा आयोजना गर्ने भारत रंग महोत्सव यसवर्ष फेब्रुअरी १ देखि हुँदैछ । सन् १९९९ बाट सुरु भएको महोत्सवमा यसअघि सुनिल पोखरेल, अनुप बराल, विमल सुवेदी लगायत एनएसडीबाट प्रशिक्षित नेपाली रंगकर्मीहरुलगायत अन्य रङ्गकर्मीहरूले धेरैपटक सहभागिता जनाइसकेको छ ।
केही वर्षअघि नेपालमा नियमित मञ्चन भएको यस नाटक भारत रंग महोत्सवका लागि प्रस्थान गर्नुअघि नेपालमा विशेष मञ्चन समेत हुनेछ । माघ २९ गते साँझ ५ बजे र फागुन १ गते दिउँसो १२ र साँझ ५ बजे नाटक ‘क्लेशाः’को मण्डला थिएटरमा विशेष मञ्चन हुनेछ । २०७६ सालमा २४ मञ्चन भएको यस नाटकको नेपालमा यसपटक विशेष तीन मञ्चन हुनेछ ।
करमन कला समूहको प्रस्तुति रहेको नाटकमा सरिता गिरी, सुरक्षा पन्त, कुशल पाण्डे, सुदीप खतिवडा, विजय बराल, विकास जोशी, रोशनी कार्की, स्वप्निल घिमिरे, सन्दिप श्रेष्ठ, संयोग गुरागाईं, मिलन कार्की, सुजन खतिवडा, सविना थापा र रुजा राउतको अभिनय रहेको छ । कलाकार सुरक्षा पन्तले नाटक ‘क्लेशाः’ बाट थिएटर डेब्यु गरेकी थिइन् ।