माघ १९ शुक्रबार देखि २९ गतेसम्म शहीद गंगालाल श्रेष्ठको जीवनीमा आधारित नाटक ‘गंगालाल’ मञ्चन हुने भएको छ । गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा नाटक निर्माण भएको हो ।
शिल्पी थिएटर बत्तीसपुतलीमा मञ्चन हुने नाटकमा शहीद गंगालाललाई क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको निर्देशक चे शंकरले बताए । विक्रम संवत् १९९१ देखि १९९७ सम्म राजनीतिक परिवेशमा भएका घटनाक्रम र शहीद गंगालालका जीवनका घटनालाई आधार मानी नाटकको कल्पना गरिएको उनले जानकारी दिए ।
चे शंकरको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा धर्मभक्त, शहीद शुक्रराज र शहीद दशरथका साथै टंकप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिनेछन् ।
ड्रामाटर्जको भूमिका अनुरागले निर्वाह गरेको नाटकमा संगीत डिजाइन उत्सव बुढाथोकीले गरेका छन् भने साउण्ड डिजाइन रिजन महर्जन र अभिषेक विकले गरेका छन् । नाटकमा प्रयोग भएको कार्टुन रोशन भण्डारीले निर्माण गरेका छन् ।
नाटकमा निर्भीक, शकु शाह, इनारा बानु, दीपक छल्दंग्या, सन्दीप डंगोल, प्रदीपकुमार चौधरी, निरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमु एडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दले अभिनय गरेका छन् ।