बिहीबार फिल्म ‘दयारानी’को प्रेस मिटमा अभिनेता दयाहाङ राईले अबको एक वर्ष नयाँ फिल्म साइन नगर्ने बताएका छन् ।
‘मैले अभिनयका लागि सहमति जनाएको घोषणा हुन बाँकी ५ फिल्म छन् । त्यसपछिका अन्य फिल्म साइन गर्दिनँ,’ दयाहाङले भने, ‘साथीभाइको मुख हेर्दाहेर्दै धेरै फिल्म थुप्रियो ।’ दयाहाङले आफ्नो अभिनय रहेको फिल्मको सङ्ख्या धेरै भएकोले अब केही कम गर्ने सोच समेत राखेको सुनाए ।
‘दयारानी’ आगामी २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । यो मितिमा दायहाङको अर्को फिल्म ‘हात्ती छाप’ पनि रिलिज हुँदै छ ।
‘माघ २६ मा आउने मेरो दुवै फिल्म एकै समय बनेको होइन, यी फिल्म निर्माण ३, ४ वर्षको ग्याप थियो । अहिले रिलिजमा कसरीसँगै आयो । त्यो मैले बुझिन’, दयाहाङले भने, ‘रिलिजसँगे भए पनि यी दुवैको फरक फरक दर्शक हुन् । कसैलाई केही असर नपर्ला ।’ दयाहाङले दुवै फिल्मले दर्शक रिझाउने सुनाए ।
अभिनेत्री दिया पुनले आफू फिल्ममा दयाहाङकी श्रीमतीको रूपमा देखिने बताइन् । ‘फिल्ममा विवाह भएको धेरै समय हुँदा पनि सन्तान जन्माउन नसकेकी एउटा महिलाको भूमिकामा म छु । जसलाई परिवार र समाजले सन्तानको लागि टर्चर दिइरहेको हुन्छ’, दियाले थपिन् ।
अभिनेता विजय बरालले फिल्म ‘दया रानी’मा आफू दयाहाङ राईको मितको रुपमा देखिन लागेको बताए । मलाई दयाहाङको साथ छोड्नु हुँदैन जस्तो लाग्छ । त्यसैले यो पटक मितको रूपमा छु’, विजयले थपे, ‘मेरो पत्रले फिल्मको कथामा विभिन्न मोड ल्याउँछ ।’ विजयले आफ्नो भूमिका पनि फिल्मको लागि महत्त्वपूर्ण रहेको दाबी गरे ।
‘दयारानी’ माओत्से गुरुङको डेब्यू निर्देशन रहेको फिल्म हो । बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् ।
फिल्ममा दयाहाङ, दिया र विजयको अलवा प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकारको अभिनय छ ।