भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डे जीवितै रहेको खुलेको छ । उनको इन्स्टाग्राम एकाउन्टमार्फत शुक्रबार पाण्डेको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको सार्वजनिक भएको थियो । इण्डिया टुडेका अनुसार, उनका म्यानेजरले समेत पाण्डेको ३२ वर्षको उमेरमा निधन भएको बताएका थिए ।
तर, शनिबार इन्स्टाग्राममा भिडियो पोष्ट गर्दै पुनमले ‘आफू जीवितै रहेको’ खुलाएकी छन् । आफ्नो पुरानो पोष्टले धेरैलाई दुःखाएको प्रति माफी माग्दै पुनमले भनेकी छन्, ‘हो, मैले मेरो मृत्युको झुठो खबर फैलाएँ तर, मैले सर्भिकल क्यान्सरबारे सचेतना फैलाउनलाई यो गरेकी थिएँ ।’
मृत्युको खबर सार्वजनिक भएपछि सबैले पाठेघरको मुखको क्यान्सरको कुरा गरिरहेको भन्दै उनले भनेकी छन्, ‘यो यस्तो रोग हो, यसले थाहै नपाइ तपाईंको ज्यान लिन्छ र यो रोगबारे धेरै चर्चा हुनु जरुरी छ, जुन मेरो मृत्युको समाचारले गरेको छ ।’
शनिवार उनले जनतालाई सचेत गराउनको लागि उनले आफ्नो मृत्युको खबर फैलाएको बताएपछि भारतमा उनको व्यापक विरोध भइरहेको छ ।
चलचित्र निर्माता अशोक पण्डितले एक भिडियो शेयर गर्दै अभिनेत्रीले धेरैको भावनामा खेलबाड गरेको बताएका छन् । उनले पुनमको कर्तुतले पाठेघरको मुखको क्यान्सरसँग लडिरहेका सबैको खिल्ली उडाएको बताएका छन् । ‘सिङ्गो देशलाई झुटो बोलेर यो नाटक रचेको अभियन्ता विरुद्ध मुद्दा दर्ता गर्न सरकारका सबै कानुनी निकायलाई आग्रह गर्दछु । यस घटनामा संलग्न पिआर एजेन्सीलाई पनि कारबाही हुनुपर्छ’, उनले भनेका छन् ।
पुनमको पोस्टमा कमेन्ट गर्दै एकता कपूरले पनि लेखेकी छिन्, ‘यो सचेतना भनेको कुन खोप लिनु हुँदैन भन्ने हो । यस्तो असंवेदनशील अभियानलाई प्रोत्साहन गर्ने कम्पनीलाई कारबाही गर्नुपर्छ ।’
उता पुनमको यो भद्दा मजाकलाई लिएर भारतका जनताले पनि व्यापक विरोध गरेका छन् । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले कमेन्ट गर्दै लेखे, ‘सचेत बनाउने तरिका अलि अनौपचारिक छ।’ अर्को प्रयोगकर्ताले टिप्पणी गरे, ‘तपाईँले आफ्नो दिमागको लागि पनि प्लास्टिक सर्जरी गराउनुपर्छ।’